काठमाडौं :
निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा निर्माण भएको नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ’ सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनका बीच उक्त गीत सार्वजनिक गरिएको हो।
लोक-आधुनिक शैलीको यस गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर, निर्देशक बोहराको शब्द तथा राजनराजकै संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा हास्य कलाकार नारायण त्रिपाठी, अभिनेत्री सुरक्षा पन्त र अभिनेता विल्सन विक्रम राई फिचरिङ छन्।
कार्यक्रममा बोल्दै गायक तथा संगीतकार राजनराज शिवाकोटीले केही समयको विश्रामपछि पुनः संगीत सिर्जनामा सक्रिय भएको र यो गीतले दर्शक-स्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको बताए।
अभिनेत्री सुरक्षा पन्तले फिल्म निकै उत्कृष्ट बनेको र यो जनरा (कमेडी तथा रियल बेस) मा आफ्ना कमै फिल्म रहेकाले आफू निकै उत्साहित रहेको बताइन्। यस्तै, अभिनेता मुकुन भुसालले अभिनेत्री सुरक्षा पन्तसँग पहिलोपटक काम गर्ने अवसर यसै फिल्ममार्फत जुरेकोमा खुसी व्यक्त गरे।
यसअघि थुप्रै हिट गीत लेखिसकेका निर्देशक बोहराले ‘ठूली’ फिल्मको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ जस्तै यस गीतलाई पनि आम दर्शकले माया दिने विश्वास व्यक्त गरे। यसै फिल्ममार्फत करिब डेढ दशकको अन्तरालपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) ले पुनरागमन गरेका छन्। फिल्ममा त्रिपाठीका साथै मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। फिल्मको अमेरिकामा विशेष शो भइरहेको र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माता उपाध्यायले जानकारी दिए।
शेरबहादुर तामाङको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।