काठमाडौं :
वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्माण हुने भएको छ। हाल चलचित्रको संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।
यसै क्रममा सोमबार चलचित्रको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको छ। निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले स्वर दिएका छन्। यसअघि चलचित्रको पहिलो गीत गायक शिव परियारको स्वरमा रेकर्ड भइसकेको छ।
रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रको पटकथा तथा संवाद लेखन भने शिवम अधिकारीले गरेका छन्।
चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन् भने लाइन प्रोड्युसरका रूपमा पुष्कर लामा (प्रेम भोम्जन) आबद्ध छन्। संगीत रेकर्डिङसँगै कलाकार तथा प्राविधिक टोली छनोटको काम पनि अन्तिम चरणमा पुगेको छ। निर्माण टिमका अनुसार चाँडै नै एक औपचारिक कार्यक्रम आयोजना गरी चलचित्रका मुख्य कलाकार र अन्य प्राविधिकहरूको घोषणा गरिनेछ।