सुचना, समाचार र मनोरन्जन

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौँ,

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

मेट्रो ट्राफिक एफएम ९५।५ को १४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा उहाँले अपराधविरुद्ध जनचेतना फैलाउन तथा सुरक्षासम्बन्धी सही र विश्वसनीय सूचना सयममै प्रवाह गर्न एफएमले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

आगामी दिनमा क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवद्र्धनात्मक, गुणस्तरीय एवं विश्वसनीय नागरिक केन्द्रित कार्यक्रम प्रसारण गर्न एफएमलाई उहाँले निर्देशन दिनुभयो । उहाँले सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि प्रहरी, नागरिक र तीनै तहका सरकारबीच सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले नागरिक सुरक्षामा खटिइने प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्न ट्राफिक एफएमले सेतुको काम गरिरहेको स्मरण गर्नुभयो ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले समाजमा शान्ति सुरक्षा र अमनचयन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन प्रहरीलाई साधनस्रोत सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापन प्रहरीको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै आमनागरिकले पनि त्यसमा हातेमालो गर्नुपर्ने आवश्यकता औँल्यानुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार र प्रविधिमा लगानी गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले ट्राफिक प्रहरी, चालक र यात्रुबीच सूचनाको सेतु बन्न एफएम सफल भएको बताउनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीउधन रक्षा गर्न एफएमले ट्राफिक व्यवस्थापन, मौसम र हवाई सेवालगायत प्रत्येक ३०÷३० मिनेटमा ‘ट्राफिक अपडेट’ दिँदै आएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.