सुचना, समाचार र मनोरन्जन

‘दुखी आत्मा’मा कवि मुकारुङका कवितामा दयाहाङको अभिनय

काठमाडौं :

चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ। कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन्। दीपेन्द्र लामा लिखित तथा निर्देशीत ‘दुखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ।

माथि माथि शैलुङुगेमा,तिमी तारेभीर,राई माइलाले गाउँ छोड्यो रे.. जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू ‘दुखी आत्मा’ मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन।

‘चलचित्रका फराकिला दर्शक समूहमाझ  कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’उनी भन्छन्,‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु।’

फिल्मको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रष्ट्याए।

उनले भने,‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ। पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो।’

निर्देशक लामा मुकारुङका कविताहरुले आफ्नो फिल्मको पात्र र परिबेशलाई न्याय मिलेको दावी  गर्दछन। मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राई माथि फिचरिङ गरिएको बताइएको छ।

क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई,आँचल शर्मा,अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन। आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुदैछ। फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ। फिल्मको हाल सम्पादन कार्य भइरहेको छ।

Leave A Reply

Your email address will not be published.