सुचना, समाचार र मनोरन्जन

कसरी दोहोरियो दयाहाङ र सिर्जनाको जोडी ?

काठमाडौं :

माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मिरमिरे’मा दयाहाङ राई र सिर्जना निङलेखु दोहोरिएका छन्।  यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको जोडीलाई दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन्।

संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याए, जसले चलचित्र ‘कार्साङ्’ निर्देशन गरेका थिए। अथवा ‘कार्साङ्’कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन्।

“एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,” जवाफमा निर्देशक यम भन्छन् “दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ। नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्‍याएको हो ।”

चलचित्रको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए। कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पार्छन्।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’मा शाइसा गौचन अर्को मुख्य पात्र हुन्। उनले दयाहाङको छोरीको भूमिका निभाएकी छन्।

केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाउले गरेको संघर्ष देखाएको छ। जसमा आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन्। सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ। छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ रु यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य देखिन्छ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जना, शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त,चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.