काठमाडौं :
अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको सम्बन्धसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको फिल्म भएको बताएका छन्।
छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी फिल्म ‘मिरमिरे’ले भन्ने दयाहाङ बताउँछन्। यही भावनालाई भित्रैबाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेमा आफू फिल्ममा केन्द्रित रहेको उनले बताएका छन्। झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’मा धेरै कुरा रहेको उनको भनाइ छ।
“झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो फिल्म छानेको हुँ,” दयाहाङ अगाडि थप्छन्, “कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौँ। तर, यो प्यासनले हेर्ने फिल्म हो।”
‘मिरमिरे’ हेरेपछि एकपछि अर्को सोच्न बाध्य बनाउने कथा बोकेको फिल्म भएको उनको भनाइ छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालकसमेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।