सुचना, समाचार र मनोरन्जन

‘गोबर गणेश’ फिल्मलाई महानायकदेखि दिग्गज कलाकारहरूको व्यापक समर्थन

काठमाडौं :

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई झनै तीव्रता दिएको छ।

विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गज हस्तीहरूलाई भेटेर फिल्मको बारेमा जानकारी गराउन र आशीर्वाद लिन व्यस्त छन्। यसै क्रममा उनले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, निर शाह, चर्चित अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला लगायतका थुप्रै कलाकारहरूसँग भेटघाट गरेका छन्।

भेटका क्रममा कलाकारहरूले बल्छी धुर्वेको मेहनत र इमानदारिताको मुक्तकण्ठले प्रशंसा गरेका छन्। सानो पर्दा (टेलिभिजन) का कलाकारका रूपमा सुरु भएको उनको यात्रा आज ठूलो पर्दाको नायक र निर्देशकको तहसम्म पुग्नु सबैका लागि प्रेरणादायी रहेको उनीहरूको भनाइ छ। वरिष्ठ कलाकारहरूले बल्छीको यो साहस र लगनशीलताले नयाँ पुस्ताका कलाकारहरूलाई पनि मार्गनिर्देशन गर्ने भन्दै ‘गोबर गणेश’को सफलताका लागि शुभकामना दिएका छन्। दिग्गज कलाकारहरूबाट पाएको यो साथ र हौसलाले फिल्मको टिम थप उत्साहित बनेको छ।

एक साता अघि सार्वजनिक भएको ‘गोबर गणेश’को ट्रेलर करिब ३० लाख (३ मिलियन) पटक हेरिएको छ। ट्रेलर यतिबेला युट्युबको नम्बर १ ट्रेन्डिङमा छ। सामाजिक कथावस्तुमा आधारित हास्य र भावनाको समिश्रण रहेको यो फिल्मलाई लिएर दर्शकमा पनि निकै कौतूहलता देखिएको छ। बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभरका सिनेमा हलमा रिलिज हुँदैछ।

फिल्ममा बल्छीसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय रहेको छ।

तारानाथ न्यौपाने चिफ एडी रहेको फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपिन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

Leave A Reply

Your email address will not be published.