काठमाडौं :
नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित पुरस्कार ‘डी सिने अवार्ड’ को १७ औँ संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित हुने भएका छन् । आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार यस वर्षको ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ देउजा र सिंहलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
त्यस्तै, चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील रंगपत्रकार सचित खड्कालाई यस वर्षको ‘रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । नेपाली चलचित्र उद्योगको विकास, विस्तार र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने स्रष्टा तथा चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान र पुरस्कार घोषणा गरिएको आयोजक समितिले जनाएको छ ।
विगत १७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस अवार्ड कार्यक्रममा विशेष सम्मानका साथै विसं २०८१ सालमा प्रदर्शन भएका चलचित्र, तिनका कलाकार, प्राविधिक र स्रष्टाहरूलाई विभिन्न प्रतिस्पर्धात्मक विधामार्फत उत्कृष्टता पुरस्कार समेत प्रदान गरिनेछ ।
चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्व, कलाकार, निर्देशक, प्राविधिक र पत्रकारहरूको उपस्थिति रहने ‘१७ औँ डी सिने अवार्ड समारोह’ आगामी २०८३ साल जेठ २१ गते चलचित्र विकास बोर्डको हलमा आयोजना हुनेछ ।