काठमाडौं :
चलचित्र ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै यसको प्रदर्शन मिति आगामी मंसिर ११ गतेका लागि तय गरिएको छ। निर्माणपक्षले आज चलचित्रको एक आधिकारिक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। टौवा क्रियशनले तयार पारेको उक्त पोष्टरको पृष्ठभूमिमा रातो रंग प्रयोग गरिएको छ, जसले चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण भएको अनुमान लगाउन सकिन्छ। सार्वजनिक पोष्टरमा चलचित्रका अधिकांश मुख्य कलाकारहरूलाई फरक–फरक अवतार र मुडमा प्रस्तुत गरिएको छ।
समीर राइको निर्माण तथा जीवन शाहीको निर्देशनमा तयार भएको यस चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसी मुख्य भूमिकामा रहेका छन् । यसका साथै चलचित्रमा सुरविर पण्डित,नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ र समीर लामा लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ।
प्राविधिक पक्षतर्फ चलचित्रमा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन तथा एलिस कार्कीको पृष्ठभूमि संगीत (बीजीएम) रहेको छ । निर्माण सम्पन्न भई प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई नेपालभर एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन्।