सुचना, समाचार र मनोरन्जन

एनवाईईएफ पोखराको अध्यक्षमा ईन्जिनियर सरोज कायस्थ निर्वाचित

पोखरा, 

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी ई.सरोज कायस्थ निर्वाचित भएका छन्। शनिबार सम्पन्न २१औँ साधारणसभा तथा १६औँ अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा समेज राजभण्डारी, प्रेसिडेन्ट इलेक्टमा सिए विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हसाल बिजुक्छे, प्रोग्राम चेयरमा सुरुज श्रेष्ठ तथा फाइनान्स चेयरमा निरुज बाटाजु निर्वाचित भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यहरूमा मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा, सिजन श्रेष्ठ, लक्षन राज श्रेष्ठ र अस्मित भारी चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष कायस्थले सम्पूर्ण युवा उद्यमीलाई समेटेर मञ्चलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै पोखरालाई केवल पर्यटन नगरीमा सीमित नराखी ‘टेक्नोलोजी एण्ड इनोभेसन सिटी’का रूपमा विकास गर्ने दीर्घकालीन सोच अघि सारे।

उनले सूचना प्रविधि (आईटी) क्षेत्रमा युवाको सहभागिता बढाउने, आईटीसम्बन्धी स्टार्टअपलाई प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। साथै, गण्डकी प्रदेश सरकारद्वारा पोखरा महानगरपालिका–मेटलाङ क्षेत्रमा प्रस्तावित आईटी पार्क निर्माण तथा सञ्चालनलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्र, शैक्षिक संस्था तथा सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धनमार्फत पोखरामा गुणस्तरीय रोजगारीका अवसर सिर्जना हुने, युवा प्रतिभालाई स्वदेशमै आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण बन्ने तथा लगानी आकर्षित भई क्षेत्रीय आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे। अध्यक्षमा निर्वाचित गराएकोमा सम्पूर्ण सदस्यप्रति उनले आभार समेत व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा एनवाईईएफका केन्द्रीय अध्यक्ष सुदीप घिमिरे ले युवा उद्यमीहरूको हितसँगै सामाजिक क्षेत्रमा पनि मञ्चले सक्रियतापूर्वक काम गरिरहेको बताए। उनले पोखरा च्याप्टरको सक्रियताको प्रशंसा गरे।

त्यसैगरी, आनन्दराज मुल्मी ले युवा उद्यमीहरूले देशको आर्थिक विकासमा थप योगदान दिनुपर्ने बताए।

कार्यक्रममा गोकर्ण कार्की ले उद्यमशीलता विकासमा एनवाईईएफले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आर्थिक, सामाजिक तथा नैतिक विकासमा युवा उद्यमीहरूको भूमिका अझ महत्वपूर्ण रहने धारणा राखे।

मञ्चका निवर्तमान अध्यक्ष समेज राजभण्डारी ले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.