काठमाडौं :
अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’ मा अभिनेत्री दीपाश्री निरौला अनुबन्ध भएकी छन्। निर्माण टिमले मंगलबार दीपाश्रीलाई फिल्मका लागि औपचारिक रूपमा अनुबन्ध गरेको हो।
नीता ढुंगानाले केही समयदेखि दीपाश्रीसँग मौखिक सहमति हुँदै आएको बताउँदै मंगलबार भने कागजी सम्झौता सम्पन्न गरिएको जानकारी दिइन्। “आज औपचारिक सम्झौता भएको हो। मेरो प्रोजेक्टमा दिदी हुनु ठूलो कुरा हो,” नीताले भनिन्।
फिल्ममा दीपाश्री मुख्य भूमिकामा देखिनेछिन्। अनुबन्धपछि दीपाले १२ वर्षअघिको सहकार्य सम्झिँदै भनिन्, “२०७० सालमा ‘छ एकान छ’ मा हामीले सँगै काम गरेका थियौं। १२ वर्षपछि फेरि सहकार्य गर्ने अवसर पाउँदा खुसी लागेको छ।”
दीपाश्री छक्का पञ्जा टिमकी सफल अभिनेत्री तथा निर्देशक हुन्। उनको सामेलतासँगै फिल्मप्रति दर्शकको उत्सुकता बढेको छ। यसअघि फिल्ममा चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भइसकेका छन्।
फिल्म ‘पार्वती’ को छायांकन आगामी असोज महिनाबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मको दुई पोस्टर सार्वजनिक गरिसकिएको छ भने प्रदर्शन मिति माघ १ गते तय गरिएको छ।
फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माणमा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना रहेका छन्।
फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ।
