काठमाडौं :
चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधनको १३औँ दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कार्यक्रममा सिटौलाको स्मृतिमा श्रद्धासुमन अर्पण गर्दै उहाँले फिल्म पत्रकारिता र फिल्म उद्योगमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गरिएको थियो ।
श्रद्धाञ्जली सभामा स्व. सिटौलाको स्मृतिमा कम्तीमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिने घोषणा गरिएको छ । संघका अध्यक्ष समीर बलामीका अनुसार उक्त कोषमार्फत हरेक वर्ष १८ माघमा विशेष कार्यक्रम आयोजना गरिनेछ । साथै संघको वार्षिकोत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला फिल्म पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गरिने जानकारी उनले दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सिटौलाले फिल्म उद्योग र फिल्म पत्रकारितामा पुर्याएको योगदान स्मरणीय रहेको बताउँदै अक्षय कोषका लागि सहयोग गर्न सबैलाई आह्वान गरे । उनले बोर्डको तर्फबाट ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरे ।
त्यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले स्व. सिटौला मिलनसार, सहयोगी र सकारात्मक सोचका धनी व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा फिल्मकर्मी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले स्व. सिटौलाको योगदान सधैं स्मरणीय रहने बताएका छन् ।
