काठमाडौं :
बलिउड बक्स अफिसमा आगामी बहुप्रतिक्षित फिल्म धुरन्धर २ ले उत्तर अमेरिका (९संयुक्त राज्य अमेरिका र क्यानडा) बजारमा बलियो सुरुवात गरेको छ। हालैका रिपोर्टअनुसार फिल्मले एड्भान्स बुकिङमार्फत १ लाख अमेरिकी डलरभन्दा बढीको टिकट बिक्री गरिसकेको छ।
यसैबीच प्रतिस्पर्धामा रहेको टक्सिकको तुलनामा धुरन्धर २ स्पष्ट अग्रता लिएको देखिएको छ। प्रारम्भिक प्रि–सेल्स, शो अकुपेन्सी र स्क्रिन बुकिङका आधारमा पनि धुरन्धर २ ले उत्तरी अमेरिकी बजारमा बलियो पकड बनाएको ट्रेड विश्लेषकहरूले जनाएका छन्।
भारतिय मिडिया द टाइम्स अफ इन्डियाका अनुसार ओटीटी प्लेटफर्मले पनि फिल्मको अग्रिम टिकट बिक्री अपेक्षाभन्दा बढी भएको उल्लेख गरेको छ।
विश्लेषकका अनुसार टक्सिकको रिलिज मिति जून ४, २०२६ तर्फ सारिएपछि धुरन्धर २ ले सोलो रिलिजको फाइदा उठाएको हो। यसले टिकट बिक्रीमा उछाल ल्याएको र दर्शकको चासो अझ बढेको अनुमान गरिएको छ।
ओपनिङ वीकएन्डमा यदि हालको ट्रेन्ड कायम रह्यो भने धुरन्धर २ ले उल्लेखनीय कलेक्सन गर्ने सम्भावना रहेको बताइएको छ। विशेषगरी एनआरआई दर्शकमाझ फिल्मप्रति देखिएको उत्साहले बक्स अफिस प्रदर्शनलाई थप मजबुत बनाउने संकेत दिएको छ।
बलिउडमा २०२६ को सुरुआतमै यो प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय बजारमा हिन्दी फिल्मको प्रभाव झन् स्पष्ट भएको देखिन्छ। अब सबैको नजर ओपनिङ डे र पहिलो वीकएन्डको वास्तविक व्यापारमा केन्द्रित रहेको छ।