काठमाडौं :
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो नेतृत्वमा छोटो समयमै उल्लेखनीय उपलब्धिहरू हासिल गर्ने लक्ष्य प्रस्तुत गरेका छन्। बोर्डको अध्यक्ष भएपछि उनले आफ्ना केहि भनाईहरु राख्दै २ वर्षको काम ६ महिनामा सकेर अगाडि बढ्ने बताउदै आएका छन्। सोही अनुसार उनी ‘दुई वर्षको काम ६ महिनामा सक्ने’ हिसावले नैअगाडि बढेको देखिन्छ।
काम नगर्ने र बहाना बनाउने छुट आफूलाई नरहेको स्पष्ट पार्दै अध्यक्ष डिसीले आफ्नो जिम्मेवारीप्रति इमान्दारिताका साथ अगाडि बढ्ने दाबी गरेका छन्। बुधबार बोर्डमा ३० वर्ष फिल्म क्षेत्रमा काम गरिसकेका ७२ जना चलचित्रकर्मीलाई विशिष्ठ परिचय पत्र वितरण गरिएको थियो। उक्त कार्यक्रममा उनले आफुले तीनवटा मुख्य कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान आउँदो साताभित्र सम्पन्न गर्ने तयारी भइरहेको समेत जानकारी दिए। अध्यक्ष डिसीले स्वायत्तता र पारदर्शितालाई प्राथमिकतामा राख्दै बोर्डभित्रका सेवालाई चुस्तदुरुस्त बनाउन ध्यान केन्द्रित समेत गरेका छन्। उनका अनुसार आगामी वैशाख १ गतेसम्म चलचित्रकर्मीले देखिने र महसुस हुने गरी काम गरिनेछ । उनी आफ्नो भनाईप्रति प्रतिबद्धताका साथ नेपाली चलचित्रकर्मी र दर्शकहरूमा नयाँ आशा पैदा गराउने काममा लागि परेका छन्।
‘हामी ऐन बनाउन,फिल्म स्टुडियो बनाउन र रियल टायम बक्स अफिस लागु गराउन लागि परेका छौँ,’उनले परिचयसँगको कुराकानीमा भने,‘त्यसैले मैले अमेरिकाको दुई वटा, युरोपको एउटा कार्यक्रममा नै नगईकन यसैमा लागि परेको छु।’
उनले आफुले चैतसम्ममा बोर्डको काम देखिने गरिका साथ लागि परेकोले सानातिना कार्यक्रममा समेत आफुलाई नबोलाउन अनुरोध गरेका छन्। विशिष्ठ खाल्का कार्यक्रममा बाहेक आफु कुनै पनि कार्यक्रममा सरिक नहुने उनको भनाई थियो। कुनै पनि चलचित्रकर्मीहरुलाई गीत तथा ट्रेलर,टिजर रिलिज गर्नका लागि हल समेत निशुल्क उपलब्ध गराएको कार्यक्रममा जानकारी दिएका थिए। उनको कुरामा अधिकांश चलचित्रकर्मीहरुले सहमती जनाउदै ताली बजाए।
बोर्डको काममा रहेको अवरोधलाई समाप्त गर्दै, आफ्नो समूहसँग सहकार्य गरेर नयाँ सेवा थप्न र पुराना सेवाहरूलाई सुधार्न कुनै कसर बाँकी नराखेको उनको भनाई थियो। कुनै पनि चलचित्रकर्मीको निधन भएको खण्डमा पैसा उठाउन नपर्ने र बोर्डको सहयोगमा निशुल्क दाहसस्कारको व्यवस्था मिलाउन लागेको समेत उनले जानकारी दिए। यसअघि कुनै पनि कलाकारको निधन भएको खण्डमा फिल्मकर्मीसँग पैसा उठाएर दाहसंस्कार गर्नुपर्ने बाध्यता थियो। उनको समयमा यसको अन्त्य भएको छ।
उनी बार्डको हलदेखि चलचित्र भवनसम्ममा अशक्तका लागि ह्वील चेयर र स्तनपान गराउनका लागि छुट्टै रुमको व्यवस्था समेत गरिएको जानकारी दिए। उनको यो मेहनत र दृष्टिकोणले चलचित्र क्षेत्रको विकास र व्यावसायिकता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ। चलचित्रकर्मीहरूको हितमा उनले चालेका कदमहरूलाई सबैले साथ र समर्थन दिनुपर्छ, जसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा अगाडि बढाउन थप मद्दत गर्नेछ।