सुचना, समाचार र मनोरन्जन

नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुश गरेको छु : निर्देशक दीपक श्रेष्ठ

काठमाडौँ :

निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ यही आउँदो पुस २७ गते प्रदर्शन हुँदैछ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने फिल्ममार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्दैछन् । शनिवार साँझ आयोजित पत्रकारसम्मेलनमा निर्देशक श्रेष्ठ, अभिनेता श्रेष्ठ र अभिनेत्री बुढाथोकीसँगै निर्माता राजाराम बुढाथोकी, सङ्गीतकार महेश खड्का, गीतकार डाक्टर कृष्णहरी बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठ लगायत उपस्थित थिए ।

उक्त अवसरमा फिल्मको विषयमा जानकारी गराउनुका साथै निर्देशक श्रेष्ठले २७ औँ फिल्म निर्देशन गर्दासम्मको अनुभव सुनाएका थिए । अभिनेता श्रेष्ठ पनि मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राको अनुभव साटे । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् ।

निर्देशक दीपक श्रेष्ठले भने,‘ मैले अघिल्ला फिल्म झैँ नयाँलाई अवसर दिएको छु । उहाँहरू नाममा नयाँ भएता पनि काम पुरानाले झैँ गर्नुभएको छ । तीन दशकको फिल्म यात्राको अनुभवले पनि म किरण र रक्षाको भविष्य उज्वल छ भन्न सक्छु । तर, यहाँ काम नहेरी नै निर्णय सुनाइन्छ । जो पनि नयाँ बाटै पुरानो हुन्छन् । तर, नयाँलाई लिएर फिल्म बनाउँदा बटुलेको अनुभव सुखद छैन । हलमा फिल्म चल्ने वा नचल्ने टुङ्गो नहुने, मिडियाले पनि उचित स्थान नदिने लगायतका धेरै समस्याको सामना गर्दै यहाँसम्म आएका छौँ । नयाँलाई अवसर दिदैनन् भनिन्छ, अवसर दिदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुश गरेको छु ।’

 

यसै फिल्ममार्फत मुख्य अभिनेत्रीको रुपमा देखा पर्दै गरेकी अभिनेत्री बुढाथोकीले पनि फिल्म यात्राको अनुभव साटिन । बाल्यकालदेखि नै फिल्म प्रतिको लगावलाई उनले मुर्तरुप दिएको खुसी व्यक्त गरिन् । निर्माता बुढाथोकीले फिल्म निर्माणमा आउनुको कारण बताए । उनले व्यावसायिक रुपमै अगाडि बढ्ने योजना साट्दै निर्माणलाई निरन्तरता दिने जनाए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

Leave A Reply

Your email address will not be published.