सुचना, समाचार र मनोरन्जन

दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार

तनहुँ/

तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत हुनुभएको छ । उहाँले प्रोत्साहन स्वरूप १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’ अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उहाँले गौरवान्वित महसूस गरेको प्रतिक्रिया दिनुभयो ।

५ वर्षअघिदेखि कृषि पेशामा लाग्नुभएका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गर्नुभएको छ । उहाँले कोभिड–१९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन शुरू गर्नुभएको थियो ।

उहाँका फार्ममा अहिले उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक २०० लिटर दूध उत्पादन गरी मासिक ४ लाख रुपैयाँको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताउनुभयो ।

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक २ लाख रुपैयाँ बचत हुने गरेको उहाँले बताउनुभयो । बाँस्तोलाले भन्नुभयो, ‘उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महसूस भएको छ ।’

यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उहाँ गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताउनुभयो ।

गाईका साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आउनुभएको छ । उहाँले ५० वटा बोयर बाख्रा पाल्नुभएको छ । गाई र बाख्रा दुवै थप गरेर अहिलेको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताउनुभयो ।

सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको उहाँको गुनासो छ ।

Leave A Reply

Your email address will not be published.