सुचना, समाचार र मनोरन्जन

विपद् उद्धारका लागि दुगड़ ग्रुप र कर्मचारीको १ करोड ११ लाख सहयोग

काठमाडौँ :

 एम.भी. दुगड़ ग्रुपले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुप तथा त्यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूबाट संकलित उक्त रकमको चेक सोमबार (भाद्र २२ गते) ग्रुपका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड़ र सञ्चालक शुभम दुगड़ले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति दुगड़ ग्रुपले गहिरो दुःख व्यक्त गरेको छ। विपद्‌मा ज्यान गुमाएकाहरूप्रति श्रद्धान्जली अर्पित गर्दै ग्रुपले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुका साथै बेपत्ताहरूको शीघ्र उद्धार र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ।

ग्रुपले संकटको घडीमा उद्धार, राहत र पुनःस्थापनामा खटिएका नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय तहको प्रयासको प्रशंसा गरेको छ। साथै, सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरकारसँग हातेमालो गर्न प्रतिबद्ध रहेको जनाएको छ।

जलवायु परिवर्तनका कारण बढ्दो विपद्‌ कम गर्न ग्रुपले २०७८ सालदेखि निरन्तर वृक्षारोपण अभियान चलाउँदै आएको जानकारी पनि दिएको छ। जसअन्तर्गत हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा र विभिन्न राजमार्ग तथा सार्वजनिक परिसरमा २५ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिसकिएको र यसलाई भविष्यमा पनि प्राथमिकताका साथ अघि बढाउने ग्रुपले प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.