काठमाडौं :
मंसिर २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘दुई कदम’को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार फिल्ममा समावेश गीत ‘ए मेरा बाबैनी’ को भिडियो युटुबमा सार्वजनिक भएको हो। गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड गरिएको छ।
वर्षा फिल्ममा यही गीतमा मात्रै देखिने छिन् । गीतको भिडियोमा उनको केमेष्ट्री डेव्यु अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ। अभिनेता लिम्बु पनि पहिलो फिल्ममा नै वर्षासँग स्क्रिन सेयर गर्न पाउँदा दंग देखिएका छन्। यो गीत केहि दिन अघि ठमेलको डिस्कोमा छायांकन भएको थियो।

गीतमा आशिष अविरलको संगीत तथा स्वर निरुषा भट्टराईको शब्द रचनासँगै स्वर रहेको छ। कविराज गहतराजे कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको अभाष हुन्छ । उदय सुब्बा निर्देशित फिल्ममा वर्षा र इओनका अलवा सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ।
यस अघि वर्षाको फिल्म ‘परदेशी २ ’ रिलिज भएको थियो। उनले यहि फिल्मबाट सफलताको स्वाद चाखेकी छन्। त्यसपछि उनी निर्माता र निर्देशकको नजरमा परेकी छन् । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको फिल्ममा विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।