सुचना, समाचार र मनोरन्जन

एकै थलोमा ९ देशका विधार्थीको विज्ञान प्रविधी सृजना प्रदर्शन

काठमाडौँ :

काठमाडौँमा शुक्रबारबाट अन्तर्राष्ट्रिय ‘ग्लोबल स्टिम फर एसडिजी समिट –२०२५’ भईरहेको छ । काठमाडौँको धुम्वाराही स्थित रामादा होटलमा यो समिट शुक्रबारबाट सुरु भएको हो । शुक्रबारबाट आईतबारसम्म चल्ने यो तीन दिवसीय समिट मलेसियाको ‘टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमी’ र नेपालको ‘बेन्चमार्क इन्टरनेशलन’ संस्थाले आयोजना गरेको हो ।

ग्लोबल समिटको दोस्रो दिन शनिवार यो समिट प्रदर्शनीमा केन्द्रित रह्यो । विद्यार्थीहरूले आविष्कार तथा सृजना गरेर विभिन्न प्रकारका सामग्रीहरू यो समिटमा शनिबार ४० वटा स्टलमा प्रदर्शनमा राखियो । जहाँ धेरैले उनीहरुको कला अबलोकन गरे । विज्ञान, प्रविधि, वातावरण एवम् व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित रहेर ९ वटा देशका विद्यार्थीहरूको सृजना त्यहाँ प्रस्तुत थियो। समिटमा १५ देशका विधार्थीको सहभागिता भए पनि नौ वटा मुलुक विधार्थीहरुले प्रत्यक्ष भाग लिएर आफ्नो सृजना प्रदर्शन गरे। जसमा विज्ञान, प्रविधि, गणित, नवप्रवर्तन, हरित सहर परियोजनाहरूलाई उनीहरूले नमुना तथा प्रत्यक्ष उत्पादनको रूपमा प्रस्तुत गरेका थिए।

प्रत्यक्ष भाग लिएका नौ वटा देश मध्य आयोजक नेपाल र मलेसियाको विद्यार्थीहरूको प्रदर्शनी बढी थियो । यी दुई देशसँगै भारत, पाकिस्तान, बंगलादेश, काजाकिस्तान, ओमन, स्पेन, इजिप्ट जस्ता देशका विद्यार्थीहरूले आफ्नो आविष्कारलाई प्रदर्शनीमा राखेका थिए । अनलाइनबाट भने ६ वटा मुलुक विधार्थीले सहभागिता जनाएका थिए।

शनिबारको यो प्रदर्शनी समारोहका अतिथिहरु नेपालका लागि मलेसियन राजदूतावासका कन्सुलर मोहम्मद फिर्दुस विन अजमान र धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जनले उत्कृष्ट सृजनाका लागि विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा उनीहरुको उज्ज्वल भविष्यको कामना गरे । प्रदर्शनीलाई विभिन्न व्यक्तिहरुले अवलोकन गरेका थिए । यो सम्मेलन पहिलो दिन शुक्रवार साँझ सोही होटलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा नेपाल र मलेसियाका कलाकार एवम् विद्यार्थीहरूले आफ्ना देशका गीत संगीत एवम् नृत्य प्रस्तुत गर्दै सांस्कृतिक आदन प्रदान गरे ।

ती प्रदर्शनीमा उत्कृष्ट भएकाहरूलाई पुरस्कार प्रदान गर्नुका साथै उनीहरुलाई मलेशिया भ्रमणको अवसर पनि प्रदान गरिने आयोजक पक्षले जानकारी गरायो । आयोजक ‘बेन्चमार्क इन्टरनेशनल’ नेपालका सञ्चालक अजय पुनका अनुसार आइतबार सोही स्थानमा विभिन्न कार्यक्रमबिच यो समिटको समापन गरिने छ । समिटमा प्रदर्शन भएका उत्कृष्ट सृजनाहरुलाई समापन समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गर्दै पुरस्कार प्रदान गरिने पनि पुनले बताए।

मेलेसियन आयोजक संस्था ‘टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमी मलेसिया’की अध्यक्ष डा. जयामालिनीले गत वर्ष यो समिट मलेशियामा आयोजना गरिएको बताईन् । त्यसको सफलतापछि यसपटक यसलाई नेपालमा आयोजना गरिएको पनि उनले जानकारी गराईन्। दिगो विकास लक्ष्यमा आधारित रहेर आफूहरूले विभिन्न देशका विद्यार्थीहरूलाई यो प्रतियोगितामा समावेस गरेको पनि उनले बताईन् । यस्तो प्रतिस्पर्धाले विधार्थीहरुलाई नयाँ आविष्कारमा निकै ठुलो प्रेरणा मिल्ने गरेको उनको कथन थियो ।

Leave A Reply

Your email address will not be published.