काठमाडौं :
अभिनेत्री तथा मोडल कविता नेपालीलाई उनको जन्मदिनको अवसर पारेर निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्ममा अनुवन्धित गरेका छन्। मंगलबार रुपेशले आफुले निर्देशन गर्न लागेको फिल्म ‘एक्का तीन’मा कवितालाई अभिनेत्रीको रुपमा अनुबन्धित गरेका हुन्।
कविता नेपालीलाई अनुबन्ध गरेसँगै यो फिल्मको मुख्य तीन कलाकारको लाइनअप पुरा भएको निर्माण पक्षले जनाएको छ। यसअघि यो फिल्मका लागि मूख्य भुमिकामा पूजा शर्मा र पुष्प खड्का फाइनल भइसकेका छन्। कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको फिल्म हो। कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन्। यसैले, उहाँलाई हामीले उहाँकै जन्मदिनको अवसरमा अनुवन्धित गरेका हौँ।’
फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ। तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो। फिल्मलाई सुमन गजमेरले लेखेका हुन्। कविताले यसअघि फिल्म ‘एक्लो’मा काम गरिसकेकी छिन्। उनको एक्सनलाई दर्शकले यो फिल्ममा रुचाएका थिए।