काठमाडौं :
मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । फस्र्टलुक पोस्टरमार्फत पाँच पाण्डव चिनाएको निर्माणपक्षले दोस्रो पोस्टरमार्फत द्रोपदी रिभिल गरेको छ। ‘पाँच पाण्डव’मा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रोपदीको लुक्सले दर्शकको ध्यान खिच्छ।
महाभारतकी द्रोपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले पोस्टरलाई थप सुन्दर बनाएको छ। पृष्ठभूमिमा चलचित्रका पाँच पाण्डव छन्। पहिलो पोस्टरको रथमा बसेका पाँच पाण्डवलाई दोस्रो पोस्टरको पृष्ठभूमिमा राखेर चलचित्रका मुख्य पात्रलाई रि–कल गर्ने प्रयास गरिएको छ।
‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर हरिवंश बनेका युधिस्टिर, भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देखाइएको थियो। निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी रुप दर्शकले मन पराउने विश्वास व्यक्त गरे। “हामीले यो सिनेमाका इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ,” उनले भने, “जसरी उहाँ युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ, हाम्रो सिनेमाको क्यारेक्टरमा पनि त्यस्तै रुचाइनु हुन्छ भन्ने हाम्रो विश्वास छ ।”

तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुने प्रतिक्षिच चलचित्र ‘पाँच पाण्डव’को अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ। दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन्।हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्। ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन्। चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन्। ‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ।