पोखरा,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको नेतृत्वका लागि अर्जुन खनालले उम्मेदवारी घोषणा गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की–३ बाट प्रतिस्पर्धा गरेका खनालले प्रदेश संगठनलाई नयाँ शैलीमा अघि बढाउने एजेन्डासहित अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका हुन्।
बदलिँदो राजनीतिक परिवेश र नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्न संगठनको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको खनालको भनाइ छ। उनले गण्डकीमा राप्रपाको संगठनलाई सक्रिय, अनुशासित, प्रविधिमैत्री र परिणाममुखी बनाउने योजना अघि सारेका छन्।
खनालले युवालाई संगठनको गतिविधिमा सहभागी गराउने मात्र नभई नीति निर्माण, नेतृत्व र निर्णय प्रक्रियामै अर्थपूर्ण जिम्मेवारी दिने बताएका छन्। त्यसका लागि अग्रज पुस्ताको अनुभव र युवाको ऊर्जाबीच समन्वय गर्दै संगठन निर्माण गर्ने उनको योजना छ।


उनको प्राथमिकतामा डिजिटल प्रविधिको प्रयोगमार्फत पार्टी संगठनलाई चलायमान बनाउने, वर्षभरि नै जनतासँग जोडिने गतिविधि सञ्चालन गर्ने तथा तत्काल प्रतिक्रिया जनाउनेभन्दा समयमै मुद्दा पहिचान गरी समाधानमुखी राजनीतिक एजेन्डा अघि सार्ने विषय छन्।
गण्डकीका पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदा, कृषि, रोजगारी, उद्यमशीलता, युवा पलायन र सुशासनलाई प्रदेश संगठनका प्राथमिक मुद्दा बनाउने खनालले बताएका छन्। यी विषयमा स्पष्ट नीति र कार्ययोजना निर्माण गरी गण्डकीबाट राष्ट्रिय राजनीतिक बहसमा प्रभाव बढाउने उनको दाबी छ।
‘बलियो संगठन नै बलियो पार्टीको आधार’ भन्ने मान्यताका साथ आफूले प्रदेश अध्यक्षको जिम्मेवारी लिन खोजेको खनालले बताएका छन्। पदलाई प्रतिष्ठाभन्दा जिम्मेवारीका रूपमा लिँदै संगठनको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने उनको प्रतिबद्धता छ।
राप्रपाको राजनीतिक विचार र पहिचानलाई समयअनुकूल संगठनात्मक क्षमता, प्रविधि र नयाँ पुस्ताको सहभागितासँग जोडेर गण्डकीलाई पार्टीको सक्रिय संगठनात्मक आधार बनाउने लक्ष्यसहित खनालले अग्रज नेतृत्व, नेता–कार्यकर्ता, युवा तथा शुभेच्छुकसँग सहयोग र सुझावका लागि अपिल गरेका छन्।