सुचना, समाचार र मनोरन्जन

फिल्म सम्पादनमा स्क्रिप्टको अनुशासन, टिजर–ट्रेलरमा खुला सिर्जनशीलता: साहिल खान

काठमाडौँ  :

 ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’ र ‘आउटल’ हुँदै प्रदर्शनको पर्खाइमा रहेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर फिल्मको सम्पादन पूरा गरिसकेका छन्। ४५० भन्दा बढी टिजर तथा ट्रेलर काटेर दृश्य–प्रचारमा छुट्टै पहिचान बनाएका खानका लागि पूर्ण चलचित्र सम्पादन र टिजर–ट्रेलर निर्माण दुई नितान्त फरक कलात्मक विधा हुन्।

चलचित्र सम्पादनको प्राविधिक तथा सिर्जनात्मक पक्षबारे अनुभव साट्दै खानले पूर्ण चलचित्र सम्पादनमा लामो समय, धैर्य र बहुपक्षीय समन्वय आवश्यक पर्ने बताए।

फिल्म सम्पादन: स्क्रिप्ट, न्यारेसन र टिमवर्कको साधना

एउटा पूर्ण चलचित्रको सम्पादन टेबुलमा बस्दा स्क्रिप्टको मर्म, कथाको न्यारेसन, निर्देशकको सोच र सम्पादकको आफ्नै दृष्टिकोणबीच निरन्तर अन्तरसंवाद हुनुपर्ने उनको अनुभव छ।

“फिल्म सम्पादन गर्न लामो समय लाग्छ। त्यहाँ स्क्रिप्टको मर्मलाई समात्नुपर्छ, निर्देशकको भिजनसँग तालमेल मिलाउनुपर्छ र दर्शकको आँखा कतै नबिझाउने गरी दृश्यको प्रवाह  मिलाउनुपर्छ,” साहिल भन्छन्, “हरेक दृश्य, भावना र कथाको गतिमा निर्देशक तथा लेखकसँग गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने भएकाले फिल्म सम्पादन निकै अनुशासित, जिम्मेवार र जटिल विधा हो।”

Chaka Panja

टिजर–ट्रेलर: सम्पादकको कल्पनाशीलता पोख्ने क्यानभास

अर्कोतर्फ, टिजर र ट्रेलर सम्पादन गर्दा निर्देशकको दृष्टिकोण र कथाको पृष्ठभूमि रहे पनि सम्पादकले आफ्नो व्यक्तिगत सिर्जनशीलता  लाई खुला रूपमा प्रयोग गर्न पाउने खान बताउँछन्।

२ देखि ३ मिनेटको सीमित समयभित्र कथालाई रोमाञ्चक ढाँचामा ढाल्न सम्पादकको कल्पनाशीलता बढी हाबी हुने उनको भनाइ छ। “टिजर–ट्रेलर काट्दा भने आफ्नो व्यक्तिगत क्रिएटिभिटी लगाउन पाइन्छ र यसमा काम गर्दा छुट्टै मजा आउँछ,” उनी भन्छन्, “सीमित समयभित्र फिल्मका उत्कृष्ट अंशहरू छानेर दर्शकको ध्यान तान्ने र कौतुहलता जगाउने गरी दृश्य भाषा निर्माण गर्न पाइने भएकाले यो प्रक्रिया निकै रोमाञ्चक हुन्छ।”

‘आ बाट आमा २’ मा उच्च मिहिनेत र आत्मविश्वास

पहिलो भाग ‘आ बाट आमा’ को सम्पादन गरी बक्स अफिसमा १३ करोडभन्दा बढीको ऐतिहासिक व्यापारको साक्षी बनेका साहिल यतिबेला ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन्। चलचित्रको टिजर र पहिलो गीत ‘अचेल किन कान्छी’ दुवैले युट्युबमा ५० लाख (५ मिलियन) भन्दा बढी भ्युज पाएर कीर्तिमान बनाइसकेका छन्।

टिजरमार्फत दर्शकको मन जितिसकेका साहिलले पूर्ण चलचित्रमा पनि स्क्रिप्ट, भावना र दृश्य प्रवाहको सुन्दर सन्तुलन मिलाइएको बताएका छन्। चन्द्र पन्तको निर्देशन तथा पल शाह र मलिका महतको मुख्य अभिनय रहेको यो पारिवारिक चलचित्र आगामी असोज ३० गते बडादशैँको अवसरमा देशभरका सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ। साहिल खानको चुस्त दृश्य संयोजनले चलचित्रलाई प्राविधिक र भावनात्मक दुवै हिसाबले उत्कृष्ट बनाएको निर्माण टिमको दाबी छ।

Leave A Reply

Your email address will not be published.