सुचना, समाचार र मनोरन्जन

लोकदोहोरी गायक प्रकाश कटुवालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी 

काठमाडौँ :

चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत रहेका कटुवालले कलाकारिता, सामाजिक सेवा र युवासँगको आफ्नो लामो सम्बन्धलाई राजनीतिक जिम्मेवारीसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।

रामेछापको उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधि कटुवाल १५औँ महाधिवेशनका लागि खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त विश्वासलाई थप जिम्मेवारीका रूपमा लिँदै उनले अब केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।

कटुवालले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रामेछापका जनताको आवाज कांग्रेसको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउनु र पार्टीमा युवाको अर्थपूर्ण सहभागिता बढाउनु रहेको बताएका छन्। उनका अनुसार महाधिवेशन प्रतिनिधिको भूमिका मतदानमा मात्र सीमित हुनुहुँदैन। आफ्नो क्षेत्रका समस्या, जनताको अपेक्षा र संगठनका आवश्यकतालाई पार्टी नेतृत्वसम्म पुर्‍याउनु पनि प्रतिनिधिको महत्वपूर्ण दायित्व हो।

Chaka Panja

“महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्‍याउने र पार्टीभित्र आफ्नो क्षेत्रको प्रभावकारी उपस्थिति स्थापित गर्ने जिम्मेवारी पनि हो,” कटुवालले भनेका छन्।

कलाकारितासँगै सामाजिक तथा संगठनात्मक क्षेत्रमा सक्रिय कटुवालले पछिल्ला वर्षमा कांग्रेसका विभिन्न गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन्। विशेषगरी पार्टीको संगठनात्मक गतिविधिमा उनको सक्रियता पछिल्लो समय थप बढेको देखिन्छ।

राष्ट्रिय संगीतकर्मी संघको नेतृत्वमा रहेर उनले कलाकारका हकहित तथा सांगीतिक क्षेत्रका विषयमा काम गर्दै आएका छन्। कलाकारिता क्षेत्रमा बनाएको व्यापक जनसम्पर्क र युवामाझको पहुँचलाई अब पार्टी संगठन तथा जनसेवामा उपयोग गर्ने उनको भनाइ छ।

कटुवालले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत लाभ वा पद प्राप्तिको माध्यम नभई जनताको सेवामा थप जिम्मेवारी लिने अवसरका रूपमा व्याख्या गरेका छन्। निर्वाचित भए कांग्रेसको संगठनलाई समयअनुकूल र चलायमान बनाउने, युवालाई नेतृत्वमा जोड्ने तथा कार्यकर्ता र जनताका समस्या सम्बन्धित तहसम्म पुर्‍याउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

रामेछापबाट प्राप्त विश्वासलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका कटुवालले कांग्रेसका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिसँग आफूलाई मत दिएर विजयी गराउन आग्रहसमेत गरेका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा कलाकारिता क्षेत्र र नयाँ पुस्ताको प्रतिनिधित्वको विषयसमेत चर्चामा आएको छ।

Leave A Reply

Your email address will not be published.