काठमाडौँ,
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडा–४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिक अर्काको नाममा जारी गरिएको प्रवेश पत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ ।
बिकले हेटौँडा–१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेश पत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।