पर्सा : पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने उनको सपना साकार हुन सकिरहेको थिएन।
‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’ उनले भनिन्, ‘आफ्नै घरदैलोमा पैसा नतिरिकनै आँखाको शल्यक्रिया गर्न पाउँदा त खुसीको कुनै सीमा छैन।’
आँखाको शल्यक्रिया गर्नुअघिसम्म नाति–नातिनाको सहारा लिएर हिँड्नुपर्ने अवस्था पुगेको स्मरण गरिन्। ‘आँखा शल्यक्रिया गर्नु अघिसम्म त घरका सानातिना काम गर्न पनि धेरै गाहे हुने गर्थ्यो,’ उनले भनिन्, ‘घर वरिपरि आउँजाउ गर्न पनि कसैको सहारा लिनुपर्ने हुन्थ्यो। अब त कसैको सहाराबिनै ठमठमती हिँड्नसक्ने भएकी छु।’
उनी मात्रै होइन् पर्सागढी नगरपालिका–७ टिकुलियाका ६२ वर्षीया रामचन्दर साहलाई पनि मोतियाविन्दुको शल्यक्रिया गर्नका लागि उनका ज्वाइँ नारायण साह तेलीले पुसको १३ गते पर्सागढी नगरपालिका-४ बर्वाछटैलीस्थित नेपाल राष्ट्रिय आधारभूत माध्यामिक विद्यालयमा आयोजित बृहत आँखा शिविरमा ल्याएका थिए ।
‘बुढ्यौली लागेसँगै आँखाले नजिकको वस्तु पनि छुट्याउनै नसक्ने भइसकेको थिएँ,’ मोतियाविन्दुको शल्यक्रिया गरेका रामचन्दरले भने, ‘आफ्नै पालिकामा भएको शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गरेर फेरि आँखाको ज्योति फर्किदा खुसी लागेको छ।’
शिविरमा पर्सागढीका मात्रै होइन, बहुदरमाई, सखुवाप्रसौनी, जिराभवानी, पकाहामैनपुर र जीतपुर सिमरा उपमहानगरपालिकासहित सीमावर्ती भारतीय नागरिकसहित पाँच सय ६५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणको सदरमुकाम मोतिहारीका हवास देवानले पनि सोही शिविरमा आफ्नो मोतियाविन्दुको शल्यक्रिया गराएका छन् ।
‘लामो समयदेखि आँखा हेर्न नपाउँदा जिन्दगी नै अँध्यारो भएको थियो। नेपालमा आँखाको उपचार राम्रो हुन्छ, भनेर आएको हुँ,’ उनले भने, ‘शल्यक्रिया गरेसँगै अहिले छर्लङ्गै देख्ने भएको छु।’
भारतीय नागरिक देवानले भारतका विहार राज्यमा भन्दा नेपालमा आँखाको उपचार सस्तो र प्रभावकारी हुने भएकाले आउने गरेको बताए। ‘भारतीय नागरिक भए पनि मोतियाविन्दुको शल्यक्रिया गर्न कुनै पनि अप्ठेरो भएन्’ उनले भने ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले ४० वर्षे उमेर पार गरेसँगै मोतियाविन्दुको समस्या देखिँदै आइरहेको बताए । ‘पहाडी जिल्लाको तुलनामा तराई–मधेशमा जनसङ्ख्या र औद्योगिक कारखानाले प्रदूषण गरेकाले पनि आँखा सम्बन्धित समस्या धेरै देखिने गरेको छ,’ उनले भने ।
गत पुस ११ देखि १३ गतेसम्म भएको आँखा शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सक डा. सागर रुइत, डा. दीक्षा विष्ट नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको उपचार गरेको थियो । प्रतिष्ठानका बाह्य कार्यक्रम निर्देशक निम्खेल लामाले प्रतिष्ठानको प्राविधिक सहयोगमा मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरेको जानकारी दिए ।
‘पहाडी जिल्लामा भन्दा तराई–मधेशका जनतामा मोतियाविन्दुको समस्या धेरै देखिने गर्छ,’ उनले भने, ‘आँखाको हेरचाह र सुरक्षामा विशेष ध्यान दिन जरुरी भइसकेको छ।’
प्रतिष्ठानले मुलुकका विभिन्न स्थानमा मोतियाविन्दुको शिविरमार्फत शल्यक्रिया सञ्चालन गर्दै आइरहेको जानकारी दिए । मोतिविन्दुको शल्यक्रिया दुई पद्दतिबाट गर्ने गरिन्छ । मेसिनबाट (फेको) र म्यानुअफ स्मल इन्सिसन क्याटर्याक्ट सर्जरी (एमएसआईसीएस)बाट गरिन्छ ।
मोतियाविन्दुको फेको प्राविधिमार्फत शल्यक्रिया गर्दा कम्तीमा पनि १८ हजार रुपैयाँ खर्च लाग्ने गर्छ भने ‘एमएसआइसीएस’ प्रविधिमार्फत गर्दा कम्तीमा १० हजार खर्च लाग्ने गर्छ । शल्यक्रिया पछि बिरामीलाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको थियो ।
पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले नगरपालिकाले मोतियाविन्दुको शल्यक्रिया गर्ने बिरामीको लागि आवास, खाना र यातायातको प्रबन्ध मिलाएर शिविर सञ्चालन गरेको बताए। ‘मोतियाविन्दुका बिरामीलाई आफ्नो घरदैलोमा नै शिविर गरेर आँखाको उपचार गराउन सक्यौँ,’ उनले भने, ‘तिलगङ्गा आँखा प्रतिष्ठानले प्राविधिक र सिङ्गापुरको सिंइग होप संस्थाको सहकार्यमा मात्रै सम्भव भएको हो।’
उनले पर्साका विभिन्न ११ ठाउँमा आँखा जाँच शिविर गर्दा सात सयभन्दा धेरै मोतियाविन्दुका बिरामी भेट्टिए पनि बिरामीमा उच्च रक्तचाप र मधुमेह देखिएकाले केही शल्यक्रिया गर्न प्राविधिक रुपमा नमिलेको जानकारी दिए ।