सुचना, समाचार र मनोरन्जन

१४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौँ :
काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डको प्रांगनमा शुक्रवारबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । महोत्सवको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुक्रवार संयुक्त रूपमा गरे । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव सुरु भएको हो ।

यो महोत्सव विभिन्न कार्यक्रम सहित चलचित्र विकास बोर्डमा आगामी ५ माघसम्म जारी रहने महोत्सव निर्देशक डब्बु क्षत्रीले उद्घाटन समारोहमा जानकारी गराए । महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिनेछ । महोत्सवमा १० जना विदेशी फिल्मकर्मीको सहभागिता रहेको छ ।

सो महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले चलचित्र मार्फत जोड्दै आएको बताए । बोर्डले विभिन्न सिपमूलक प्रशिक्षण दिँदै आएको जानकारी गराउँदै अध्यक्ष डिसीले बोर्डको सहकार्यमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि यस पटक चलचित्र नृत्य कार्यशाला आयोजना हुनु सुखद पक्ष भएको बताए।

उनले महोत्सवको सफलताको शुभकामना दिँदै यस्ता महोत्सवले चलचित्रको विकास र विस्तारमा ठुलो सहयोग पुग्ने भनाई कार्यक्रममा राखे।
कुलपति हार्तम्छालीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सवले विश्वभरका कलाकर्मीबिच ज्ञान आदानप्रदानको अवसर सिर्जना गरेको बताए । कुलपति हार्तम्छालीले ललितकला प्रज्ञा प्रतिष्ठानको तर्फबाट महोत्सव स्थलमा ‘फिल्म, संस्कृति र प्रकृति’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुँदै त्यसबारे उपस्थित फिल्मकर्मीलाई जानकारी गराएका थिए ।

महोत्सवको उद्घाटन समारोहमा चलचित्र प्रदर्शक एवम् नेपाल चलचित्र संघ काठमाडौँ उपत्यकाका सभापति दुर्गालाल प्रधानलाई चलचित्रकर्मी रजत सम्मानबाट सम्मानित गरिएको थियो भने नृत्य कोरियोग्राफर संदीप भुजेल पनि सम्मानित भएका थिए।महोत्सवको उद्घाटन समारोहमा शुक्रवार चलचित्र ‘परान’ प्रदर्शन गरिएको थियो । शुक्रवार नै बंगलादेशको फिचर चलचित्र ‘मेमोरी अफ ग्लुमी मनसुन’ पनि देखाइएको थियो । सोमबारसम्म जारी रहने यो महोत्सवमा नेपालबाट २० वटा लामा छोटा चलचित्र छन् ।

जसमा नेपाली कथानक चलचित्रतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’,ऋषी लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ तथा नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ रहेको छ । यस्तै वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोटमा परेका छन्। यस्तै तीन आदिवासी चलचित्र, चार विद्यार्थी चलचित्र र पाँच लघु चलचित्र छन्।

विदेशी तर्फ १९ देशका २३ चलचित्र छन् । जसमा अन्तर्राष्ट्रिय समूहअन्तर्गत कथानक फिल्मतर्फ बंगलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एस्टोनियाको ‘अटिस्ट अफ सर्वाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोट्र्स’ छनोट भएका छन् । शनिवार महोत्सवमा बिहान ९ः३० बजेबाट बेलुका ७ः३० सम्म नियमित चलचित्र प्रदर्शन तथा मास्टर क्लास रहेको छ ।

Leave A Reply

Your email address will not be published.