काठमाडौं :
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा “सल्लाहकार मनोनयन, श्रष्टा अधिकार तथा वर्तमान गीत–संगीत बजारमा व्याप्त विकृति र विसंगतिहरूको न्युनिकरण” विषयक छलफल तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
अनामनगरस्थित सिलौटो कटेजको हलमा सम्पन्न कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयकी प्रमुख रजिस्ट्रार सबिता कार्की प्रमुख अतिथि रहनुभएको थियो भने संस्थाका अध्यक्ष नारायणबहादुर थापाको सभापतित्व तथा महासचिव सनम कठायतको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख रजिस्ट्रार कार्कीले श्रष्टा हक–अधिकारसम्बन्धी कानुनको संशोधित मस्यौदा (ड्राफ्ट) तयार भइसकेको जानकारी गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनका लागि श्रष्टाहरू स्वयं सचेत भई सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो। यस्ता कार्यक्रमहरूले श्रष्टा अधिकार, समस्या पहिचान र समाधानका लागि सरकार र श्रष्टाबीच पुलको काम गर्ने उहाँको भनाइ थियो। संस्थाका सल्लाहकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले रोयल्टी व्यवस्थापनका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो।
त्यस्तै कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक शर्मा, सल्लाहकार टेक तामाङ, रोयल्टी संकलन समाजका महासचिव बसन्त सापकोटा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गम्बु शेर्पालगायत वक्ताहरूले गीत–संगीत क्षेत्रमा देखिएका विकृति–विसंगति, तिनको समाधान, श्रष्टा अधिकार, सचेतना, रोयल्टी व्यवस्थापनका चुनौती तथा पछिल्लो समय तीव्र रूपमा विकसित एआई प्रविधिका अवसर र चुनौतीबारे धारणा राख्नुभएको थियो।
कार्यक्रममा संस्थाको निर्णयअनुसार विधानबमोजिम मनोनयन गरिएका सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको थियो। संस्थाका अध्यक्ष नारायणबहादुर थापाले यस्ता कार्यक्रमहरू श्रष्टा हक–हितका लागि उपयोगी हुने बताउँदै आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता गतिविधि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
