सुचना, समाचार र मनोरन्जन

फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिकसँगै सुजन चापागाईँको कन्सर्ट

काठमाडौं :

बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर रिलिजसँगै सांगितिक कार्यक्रम थालिएको छ। मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष ट्रेलर रिलिजसँगै डवलीमा चर्चित गायक सुजन चापागाईँले आफ्नो सांगीतिक प्रस्तुत दिए। उनको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको हो। उनले यस फिल्म र अन्य गीतहरुमार्फत उपस्थित भएका पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूलाई मनोरञ्जन दिलाए।

आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथा रहेको निर्देशक नविन चौहानले जानकारी दिए। उनले फिल्मको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए। सोही कार्यक्रममा निकै उत्साहित देखिएका निर्देशक चौहानले फिलम बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए।

पत्रकारसँगको कुराकानीमा भने,‘मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ । सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ।’

उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरुको उपस्थिति रहेकोथियो। अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए । उनले आर्टमान्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे । मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन्।

कलाकार भावना खपाङ्गी मगरले आफू फिल्मका रङ्गीचङ्गी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन् । कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि फिल्मको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन्। कलाकार एलेक्स पारसले आफ्नो काम सबैसँग बसेर हेर्न पाउँदा आनन्द लागेको बताए भने सुरज तमुले यो चलचित्र आफूका लागि रमाइलो र महत्त्वपूर्ण यात्रा बनेको बताए।

उपस्थिति भएका फिल्मका गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीत जस्तै फिल्मलाई पनि माया गरिदिन आग्रह गरे।

यस फिल्ममा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

Leave A Reply

Your email address will not be published.