काठमाडौं :
भदौ महिनामा मात्र १८ वटा नेपाली चलचित्रले नेपाल चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन्। सूचीमा नयाँ निर्देशक र निर्माता मात्र नभई पाका फिल्ममेकरसम्मको नाम समावेश छ।
यस महिनामा दर्ता भएका फिल्ममध्ये दिनेश राउत निर्देशित ‘कुमारी’ र शैलेन्द्रध्वज कार्की–शान्ति गिरीको ‘पोखरेली मसिनो’ अहिले छायांकनमै छन्। गीतकार शंकर अघिकारी ‘घायल’ले निर्देशन गर्ने ‘सुस्केरा’, चिकित्सक भोला रिजालका छोरा कपिल रिजालको ‘गौंथली’, र मदन थापाले बनाउने ‘परिवार’ पनि सूचीमा परेका छन्।
त्यस्तै, लक्ष्मण सुनारको निर्देशनमा बन्ने ‘जुनकिरी रानी’मा सुलक्षण भारती, स्वस्तिमा खड्का र सुहाना थापा देखिने भएका छन्। कमेडियन हिमेश पन्तको अभिनय रहने ‘कुमुदे हिँड्यो हिरो बन्न’लाई जानकी पन्तले निर्देशन गर्नेछन्। घनश्याम लामिछानेको ‘छिमेकी’, ज्ञानेन्द्र देउजाको ‘झिंगेदाउ २’ (केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसालको साथ) र सुव्रतराज आचार्यको ‘पच्चिस पच्चिस’ पनि दर्ता भएका छन्।
पाका निर्देशक उज्वल घिमिरेले आफ्नै ब्यानर आयुष मूभिजमार्फत ‘वडा नम्बर ६’ बनाउन अनुमति पाएका छन्। उनले सन् २०१५ मा सोही नामको फिल्म बनाएका थिए। प्रावधानअनुसार १० वर्षपछि सोही शीर्षकमा फिल्म बनाउन सकिने भएकाले घिमिरेले अमेरिकाबाट फर्किएर पुनः निर्देशनमा फर्किने भएका हुन्। उनको पछिल्लो निर्देशन ‘लभ स्टेसन’ सन् २०१९ मा रिलिज भएको थियो।
नवीन सुब्बाले आफ्नो ब्यानर मोन्छयायेम पिक्चर्सबाट निर्देशन र निर्माण गर्ने ‘लाहुरे जुत्ता’ दर्ता गराएका छन्। विक्रम जोशीले निर्देशन गर्ने ‘विक्रम’मा विक्रमसहित जेनिमा एलिजाबेथ र कन्सटेन्स टोम्स अभिनय गर्नेछन् भने जयकिसन बस्नेतलाई लिएर ‘नसोचेको माया’ बन्ने भएको छ।
चलचित्र विश्लेषकहरूले एकै महिनामा १८ फिल्म दर्ता हुनु उद्योग पुनः सक्रिय हुँदै गएको सकारात्मक संकेतका रूपमा लिएका छन्। दसैं–तिहार र आगामी वर्षलाई लक्षित गर्दै यी परियोजनाहरू अघि बढाइएका छन्।