सुचना, समाचार र मनोरन्जन

फ्लपको ट्याग हट्यो: ३१ ब्लकबस्टरको सूचीमा अनमोल केसीको दमदार ‘इन्ट्री’

काठमाडौँ :

चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको ब्लकबस्टर फिल्महरूको नयाँ सूचीले सदाबहार चर्चामा रहने अभिनेता अनमोल केसीलाई ठुलो राहत दिएको छ। बोर्डले सार्वजनिक गरेको २६ वर्षका ३१ ब्लकबस्टर फिल्मको सूचीमा अनमोल अभिनीत फिल्म ‘जेरी अन टप’ व्यावसायिक रूपमा बलियो स्थानसहित अटाएपछि उनको पारिश्रमिकलाई लिएर बजारमा हुने गरेका आलोचना र टिकाटिप्पणी तत्कालका लागि सेलाएका छन्।

गत वर्ष २५औं वार्षिकोत्सव मनाउँदा बोर्डले ७ करोडमाथि व्यापार गर्ने २५ सफल फिल्मलाई सम्मान गरेको थियो,जसमा चल्तीका स्टार अनमोल केसीको एउटा पनि फिल्म परेको थिएन। बक्स अफिसको उक्त आधिकारिक सूचीमा अनमोलका फिल्म नअटाएपछि उनको स्टारडम र मोटो पारिश्रमिकमाथि चौतर्फी प्रश्न उठाइएको थियो। तर, यस वर्ष बोर्डले सार्वजनिक गरेको परिमार्जित तथा विस्तारित सूचीमा अनमोलको फिल्मले विधागत रूपमै उत्कृष्ट पुनरागमन जनाएको हो।

बोर्डको आधिकारिक तथ्याङ्क अनुसार अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ कुल १२ करोड २८ लाख रुपैयाँ कमाउँदै नेपालका ३१ ब्लकबस्टर फिल्मको सूचीमा १४औं स्थानमा पर्न सफल भएको छ। गत वर्ष प्रदर्शनमा आएको यो फिल्म अनमोलको व्यावसायिक करिअरकै सबैभन्दा बढी कमाइ गर्ने ब्लकबस्टर फिल्म समेत बनेको छ। अनमोलको यो फिल्म १४औं स्थानमा आएपछि गत वर्ष सोही स्थानमा रहेको फिल्म ‘बोक्सीको घर’ भने अहिले १७औं स्थानमा खस्किएको छ।

यस वर्ष बोर्डले सार्वजनिक गरेको ३१ ब्लकबस्टर फिल्मको नयाँ सूचीमा अन्य थुप्रै फिल्महरू पनि थपिएका छन्। जसमा १७ करोड ७६ लाख कमाउँदै ‘परान’ चौथो स्थानमा, १३ करोड २० लाखसहित ‘आ बाट आमा’ १२औं स्थानमा, ९ करोड ३१ लाखसहित ‘लालीबजार’ १९औं स्थानमा, ९ करोड २६ लाखसहित ‘लुट २’ बीसौँ स्थानमा र ७ करोड २० लाखको व्यापार गर्दै दशकअघिको ऐतिहासिक फिल्म ‘आगो’ ३१औं स्थानमा अटाएका छन्। विगतमा दीपकराज गिरी समूहका फिल्महरूको वर्चस्व रहेको सूचीमा यसपटक अनमोल केसीको फिल्मले बलियो इन्ट्री मारेपछि नेपाली फिल्म उद्योगमा स्टारडम र बक्स अफिस कलेक्सनको नयाँ बहस सुरु भएको छ।

Leave A Reply

Your email address will not be published.