काठमाडौँ :
अभिनेत्री प्रियंका कार्कीको मुख्य लगानी तथा अभिनय रहेको बहुप्रतीक्षित फिल्म ‘मास्टर्नी’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। बहुभाषामा प्रदर्शन हुन लागेको यो फिल्म आगामी भदौ ५ गतेबाट हलमा लाग्ने तय भएको हो। यसअघि तय गरिएको प्रदर्शन मितिबाट पछाडि हट्दै निर्माण पक्षले फिल्म ‘टक्सिक’ भन्दा ५ दिन अगाडिको मिति रोजेको हो। यद्यपि, बक्स अफिसको समीकरणका कारण यो नयाँ मिति पनि फिल्मका लागि जोखिमपूर्ण नै मानिएको छ।
शुक्रबार फिल्मको एक रहस्यमयी र आकर्षक पोस्टर सार्वजनिक गर्दै नयाँ मितिबारे जानकारी दिइएको हो। सार्वजनिक पोस्टरमा अभिनेत्री प्रियंका कार्की केन्द्रमा छिन्, जहाँ उनी साडी लगाएर खुला आँखासहित बाथटबमा सुतेको अवस्थामा देखिएकी छन्। पोस्टरमा उल्लेखित ‘सबैभन्दा शान्त देखिने व्यक्तिले नै खतरनाक खेल खेल्छ’ भन्ने वाक्यले फिल्ममा प्रियंकाको पात्र हेर्दा सामान्य देखिए पनि निकै चलाख र रहस्यमयी रहेको सङ्केत गर्छ। पोस्टरको यो प्रस्तुतिले फिल्म ‘मर्डर मिस्ट्री’ को कथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ।
यो फिल्म प्रियंका कार्कीका लागि अभिनय र निर्माण दुवै हिसाबले विशेष मानिएको छ। फिल्मको मूल कथा प्रियंका स्वयंले तयार पारेकी हुन् भने यसको संवाद लेखनमा पनि उनले शान बस्नेतसँग सहकार्य गरेकी छन्। आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा प्रियंकासँगै क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माताका रूपमा रहेका छन्। नेपाल र भारतका गरी कुल ८ वटा भाषामा रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई नेपाली सिनेमाको बजार विस्तारका लागि महत्त्वपूर्ण मानिएको छ।
शुभेन्द्र घोषको निर्देशनमा बनेको यस फिल्ममा प्रियंका कार्कीलाई आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा र दिनेश काफ्ले लगायतका दिग्गज तथा चल्तीका कलाकारहरूले स्क्रिनमा साथ दिएका छन्। युवराज इन्दोरियाको छायांकन र राजा सिंह सिदुको सम्पादन रहेको फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा र क्रिएटिभ निर्माता सिमोस सुनुवार हुन्। उत्कृष्ट स्टारकास्ट र बलियो टिमका कारण जोखिमपूर्ण मितिका बावजुद पनि यो फिल्मले हलमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।