सुचना, समाचार र मनोरन्जन

गगन थापाको प्रस्ताव: अब वडाबाटै मतदान गरेर कांग्रेस सभापति छानौँ

काठमाडौं,

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी महाधिवेशनदेखि पार्टी सभापति छान्न देशभरका वडाबाटै मतदान गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।

महाधिवेशनअन्तर्गत मतदानस्थल राष्ट्रिय सभागृहबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको नेतृत्व चयनका लागि सबै महाधिवेशन प्रतिनिधिलाई एकै ठाउँमा भेला गराएर मतदान गराउने परम्परालाई अन्तिम बनाउनुपर्ने बताए।

उनले प्रविधि र कनेक्टिभिटीको विकास भइसकेकाले अब देशभर रहेका पार्टीका सदस्यले आफ्नै वडाबाट मतदान गरेर सभापति चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे।

‘त्यसैले मैले प्रस्ताव गरेको छु, अर्को पटकदेखि पार्टीको सभापति यसरी एक ठाउँमा आएर नछानौँ। हामी आठ–नौ लाख साथीहरू जहाँ छौँ, हामीले आफ्नो–आफ्नो वडामा त्यहीँ भोट हालौँ, त्यसले सभापति छानौँ,’ उनले भने।

Chaka Panja

थापाले कांग्रेसमा सात तहसम्म निर्वाचनको अभ्यास हुँदा उम्मेदवार र मतदाता दुवै थाक्ने गरेको उल्लेख गरे। विगतमा प्रविधि र कनेक्टिभिटीको अभावका कारण यस्तो निर्वाचन प्रणाली अपनाउन बाध्य भए पनि अहिले अवस्था फेरिएको उनको भनाइ थियो।

उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो हुनुका साथै विभिन्न तहमा प्रतिस्पर्धा गर्दा पार्टीभित्रै एकले अर्कालाई हराउने अवस्था सिर्जना हुने बताए। त्यसैले पार्टीको निर्वाचन प्रक्रियालाई समयअनुकूल बनाउनुपर्नेमा उनले जोड दिए।

सभापति थापाले वर्तमान महाधिवेशनमा प्रतिस्पर्धा गरेका सबैलाई समेटेर अघि बढ्नुपर्ने पनि बताए। निर्वाचनमा जित्ने र हार्ने दुवै पक्ष कांग्रेसभित्रकै साथी भएकाले पराजित हुनेहरूलाई पनि जिम्मेवारी दिएर पार्टीमा जोड्नुपर्ने उनको भनाइ थियो। ‘यो निर्वाचन हो, हाम्रो बीचमा हेल्दी कम्पिटिसन हो। हार्ने–जित्ने हामीभित्रकै साथीहरू हौँ। हाम्रो एकदमै बाहिरको च्यालेन्ज धेरै ठूलो छ,’ उनले भने।

निर्वाचनमा आफ्नो नाम जोडेर विभिन्न प्यानल वा समूह निर्माण गरिएको भन्ने विषयमा पनि उनले स्पष्ट पारे।

थापाले आफ्नो नाममा विभिन्न सूची सार्वजनिक भइरहेका भन्दै ती सबै आफूले बनाएको भनेर विश्वास नगर्न आग्रह गरे। ‘मेरो नाममा २८ वटा सूची आइसकेका छन्। ती सबै सूची मैले बनाएको भनेर विश्वास नगर्नुहोला,’ उनले भने।

Leave A Reply

Your email address will not be published.