पोखरा/
‘गण्डकी स्वजागरण उत्सव’ २०८१ फागुन १० गते पोखरामा सम्पन्न भएको छ ।
पोखरा रङ्गशालामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेले स्वजागरणमार्फत ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई आरोग्य पर्यटन केन्द्रको रूपमा विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा भानु गुरुदेवले स्वजागरण अभियान आत्मजागरण, सुशासन र समृद्धिको जागरण गर्ने अभियान भएको बताउँदै स्वजागरण ध्यान विधिको अभ्याससमेत गराउनुभयो ।
रमेश गुरुदेवले अध्यात्मबिना मानिस स्वतन्त्र नहुने बताउनु भयो । उहाँले स्वतन्त्रताका लागि अध्यात्म आवश्यक रहेको बताउँदै यसका लागि शरीरका सात चक्रमा काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले मानसिक शान्ति र आत्मजागरणविना मानिसको चौतर्फी विकास नहुँने बताउँदै स्वजागरण अभियानले आन्तरिक शुद्धता, आत्मबोध र सुशासनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मुख्यसचिव एकनारायण अर्यालले योगध्यानको माध्यमबाट नैतिकवान, अनुशासित, सदाचारी तथा राष्ट्रप्रति समर्पित जनशक्ति निर्माण गर्नु आजको आवश्यकता भएको बताउँदै जीवन विज्ञानले सुरु गरेको स्वजागरण अभियान राष्ट्रिय एकता, विश्वशान्ति तथा मानव कल्याणका लागि सिङ्गो राष्ट्रको अभियान बनेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, गण्डकीका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य खगराज अधिकारी र राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले योग, ध्यानका माध्यमबाट मानिसलाई स्वजागृत गर्दै सुख, शान्ति र समृद्धिमा पु¥याउने स्वजागरण अभियान राष्ट्रका लागि महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा श्रद्धेय भानु गुरुदेवद्वारा लिखित श्रीमद्भगवद्गीता अध्याय दुईको व्याख्या गरिएको पुस्तक ‘गीतामहाज्ञान–२ स्वतन्त्रताको राजमार्ग’ र श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवका दिव्य वाणीहरू समेटिएको ‘दिव्य दृष्टि’ पुस्तकद्वय सम्माननीय सभामुख देवराज घिमिरेले विमोचन गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान र विभिन्न साँस्कृतिक समुहले गुरुङ साँस्कृतिक नृत्य र झाँकीहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रबाट हजारौँको सहभागिता थियो ।