सुचना, समाचार र मनोरन्जन

अक्षरको खेतीदेखि रास्वपासम्म: गनेस पौडेलको अटेरी छलाङ

सरु घिमिरे/परिचय
नेपाली सार्वजनिक वृत्तमा केही पात्रहरू यस्ता हुन्छन्, जसलाई कुनै एउटै उपमाले मात्र न्याय गर्न सकिँदैन । ती पात्रहरू समयको पदचाप बुझ्न सिपालु हुन्छन्, विचारको खेती गर्न खप्पिस हुन्छन् र आवश्यकता पर्दा राज्यसत्ताको बेथितिविरुद्ध सडकमा गर्जिन पनि डराउँदैनन् । पोखराको वौद्धिक तथा सामाजिक क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर चम्किरहेको एउटा नाम हो गनेस पौडेल ।

सरकारी कागजमा उनको नाम खडकराज पौडेल लेखिएको छ । तर, उनी खडकराजभन्दा गनेस भएर चिनिनुमा गर्व गर्छन् । यो केवल नामको फेरबदल मात्र होइन, यसभित्र उनको एउटा गहिरो दार्शनिक चेत लुकेको छ । गनेस अर्थात् कसैले गनोस्, कसैले मूल्याङ्कन गरोस्, उनी आफ्नो नामको व्युत्पत्ति यसरी नै गर्छन् । वास्तवमै आजको समयले, समाजले र अबको राजनीतिले उनलाई गन्न थालेको छ ।

अक्षर र चिन्तनको यात्रीस् गनेस पौडेल मूलतः शब्दका साधक हुन् । उनको लेखकीय व्यक्तित्वको चर्चा गर्दा पैताला उपन्यासलाई बिर्सन सकिँदैन, जसले उनलाई नेपाली आख्यान साहित्यमा एउटा बलियो मानकका रूपमा स्थापित गर्‍यो । उनी केवल लेखक मात्र होइनन्, विश्व साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने सेतु पनि हुन् । सार्वजनिक मञ्चहरूमा उनको तिख्खर र सटिक समालोचकीय क्षमता देख्दा लाग्छ, उनीसँग विचारको एउटा यस्तो यन्त्र छ, जसले समाजका जटिलभन्दा जटिल मुद्दालाई पनि सरल र बोधगम्य भाषामा चिरफार गरिदिन्छ ।

पठन संस्कृतिको विकासका लागि उनले चालेको कदम अतुलनीय छ । रिड एण्ड फिड को नारासहित स्थापित र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपालका उनी संस्थापक सचिव हुन् । पोखरामा पठन संस्कृतिलाई एउटा अभियानका रूपमा अगाडि बढाउन उनले मझेरी पुस्तकालयको जग बसाले । पुस्तकालय केवल पुस्तक राख्ने दराज होइन, यो चेतनाको केन्द्र हुनुपर्छ भन्ने उनको दृढ विश्वास छ ।

मेधावी विद्यार्थीदेखि कुशल प्राध्यापकसम्मस् विज्ञान विषयका विद्यार्थी गनेस पढाइमा सधैँ ुटपरु रहे । सधैँ प्रथम हुने लत लागेका उनले पछि व्यवस्थापन विषयमा स्नातकोत्तर गरे । उच्च शिक्षाको क्षेत्रमा उनको दुई दशकभन्दा लामो योगदान छ । एक कुशल प्राध्यापकका रूपमा उनले हजारौँ विद्यार्थीको भविष्य कोरेका छन् । उनको शिक्षण शैलीमा पनि सिर्जनशीलता झल्किन्छ । उनी किताबका सिद्धान्त मात्र पढाउँदैनन्, जीवन जिउने कला र समाजप्रतिको उत्तरदायित्व पनि सिकाउँछन् ।

उद्यमशीलता र सृजना ग्रामको परिकल्पनास् गनेस पौडेलभित्र एउटा चञ्चल उद्यमी पनि लुकेको छ । उनी केही न केही नयाँ उत्पादन गरिरहन रुचाउँछन् । लेखक र सर्जकहरूका लागि शान्त र आवासीय वातावरणमा लेखपढ गर्ने ठाउँको अभाव खड्किएपछि उनले सृजना ग्रामको अवधारणा ल्याए । जहाँ फामहाउस, चमेना गृह र आवासीय सुविधासहितको प्रबन्ध छ । यो ठाउँ आज नेपालका प्रतिष्ठित लेखक र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका लागि आत्मीयता साट्ने र न्यानो हार्दिकता पाउने थलो बनेको छ ।

सामाजिक न्याय र अटेरी विद्रोहस् गनेस केवल कोठामा बसेर लेख्ने लेखक मात्र होइनन्, उनी मैदानमा उत्रने योद्धा पनि हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा मुआब्जा नपाएका जग्गाधनीहरूको न्यायका लागि उनले सङ्घर्ष समितिको नेतृत्व गरे । भ्रष्टाचार, अनियमितता र सामाजिक विसङ्गति विरुद्ध उनको स्वर सधैँ चर्को रहँदै आएको छ ।

उनको राजनीतिक चेतनाको एउटा रोचक प्रसङ्ग छ । देशको अवस्था बिग्रिएकोमा चिन्तित भइरहँदा उनकी छोरीले एकदिन प्रश्न गरिन्, बाबा, तपाईंले यो देशका लागि के गर्नुभयो त ? यो प्रश्नले उनलाई नाजवाफ बनायो । यही प्रश्नको उत्तर खोज्ने क्रममा उनी डा। बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी मार्फत वैकल्पिक राजनीतिको यात्रामा जोडिए । तर, दलीय सिन्डिकेट र परम्परागत राजनीतिको जडताले उनलाई विद्रोही बनायो ।

त्यही विद्रोहको स्वरूप थियो अटेरी अभियान । २०७९ को स्थानीय तहको निर्वाचनमा उनले लौरो चुनाव चिह्न लिएर पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । उनले चुनाव त जितेनन्, तर ३ हजार ३० मत प्राप्त गर्दै पोखरेलीको मन र परम्परागत दलहरूको निद्रा भने पक्कै जगाइदिए ।
रास्वपाको केन्द्रीय मञ्चमा नयाँ भूमिकास् अहिले समय बदलिएको छ । पोखराको सडक र मझेरी पुस्तकालयको आँगनबाट सुरु भएको उनको राजनीतिक यात्राले नयाँ मोड लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिलाई विस्तार गर्ने क्रममा गनेस पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

काठमाडौँका मेयर बालेन शाहको टिम र विवेकशील साझाको पृष्ठभूमिबाट आएका व्यक्तित्वहरूसँगै गनेसको रास्वपामा प्रवेशलाई राजनीतिक वृत्तले निकै चासोका साथ हेरेको छ । बालेन शाह वरिष्ठ नेता र सुनिल लम्साल महामन्त्रीको जिम्मेवारीमा आउँदा गनेस पौडेललाई बालेन टिमको कोटाबाट केन्द्रीय नेतृत्वमा पुर्‍याइनुले रास्वपाले गण्डकी प्रदेशमा आफ्नो संगठनलाई वैचारिक र रणनीतिक रूपमा बलियो बनाउन खोजेको स्पष्ट हुन्छ ।

गनेस पौडेल एक यस्ता बहुआयामिक व्यक्तित्व हुन्, जसमा विद्वताको गहिराइ, लेखकको संवेदनशीलता, उद्यमीको सक्रियता र राजनीतिज्ञको दूरदृष्टि समाहित छ । कोमल हृदयका धनी र सहयोगी भावनाका कारण प्रियजनका माझ आँखामा राखे पनि नबिझाउने छवि बनाएका उनी अब राष्ट्रिय राजनीतिको केन्द्र भागमा आइपुगेका छन् ।

अटेरी हुनुको अर्थ अनुशासनहीन हुनु होइन, बरु गलत व्यवस्था र बेथितिलाई स्वीकार नगर्नु हो भन्ने सन्देश दिएका पौडेलका लागि रास्वपाको यो मञ्च एक अग्निपरीक्षा पनि हो । अक्षरको खेतीबाट सुरु भएको उनको यात्राले अब राज्य सञ्चालनको नीति निर्माणमा कस्तो प्रभाव पार्नेछ, त्यो त भविष्यले नै बताउला । तर, यति चाहिँ निश्चित छ गनेस पौडेलको उपस्थितिले अबको राजनीतिमा बौद्धिकता र अटेरी साहसको नयाँ बहस भने पक्कै सुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.