काठमाडौं :
काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नेपालका ‘लौहपुरुष’ सर्वोच्च नेता गणेशमान सिंहको जीवन, त्याग र ऐतिहासिक बलिदानमा आधारित नाटक ‘वीर गणेशमान’को मञ्चन सुरु भएको छ। शनिबार साँझ एक विशेष समारोहका बीच यस नाटकको प्रिमियर शो आयोजना गरियो।
प्रिमियर शोमा गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको विशेष उपस्थिति रहेको थियो। नाटक अवलोकनपछि बोल्दै नेता सिंहले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसमा गणेशमानको योगदान कस्तो थियो भन्ने यथार्थ बुझ्न आजको युवा पुस्ताले यो नाटक अनिवार्य हेर्नुपर्ने बताए। आजको पुस्ताले राजनीतिक परिवर्तन सजिलै प्राप्त भएको हो भन्ने कमजोर बुझाइ राख्न नहुने भन्दै उनले इतिहासको वास्तविक मूल्य थाहा पाउन सबैलाई नाटक हेर्न आग्रह गरे। उक्त प्रिमियर शोमा कलाकर्मी, राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुति रहेको यस नाटकले १०३ वर्ष लामो निरंकुश जहाँनियाँ राणाशासनविरुद्ध नेपाली नागरिकलाई अधिकार दिलाउन गणेशमानले गरेको अदम्य साहसलाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत गरेको छ। राणा शासकद्वारा सर्वस्वहरणसहित जन्मकैदको सजाय पाएका गणेशमानले भद्रगोल जेलको पर्खाल नाघेर भाग्न सफल भएको दुस्साहसिक घटनालाई नाटकमा मार्मिक ढङ्गले उतारिएको छ। यसका साथै, २०४६ सालको जनआन्दोलन सफल भएपछि आफूलाई प्राप्त प्रधानमन्त्रीको पदसमेत सहर्ष त्याग गर्दै “सत्ताभन्दा माथि निष्ठा हुन्छ” भन्ने उच्च आदर्श र त्याग प्रस्तुत गरेको ऐतिहासिक क्षणलाई पनि नाटकले मुख्य विषयवस्तु बनाएको छ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशन रहेको यस नाटकमा गणेशमान सिंहको मुख्य भूमिकामा अभिनेता अभयराज बरालले जीवन्त अभिनय गरेका छन्। निर्देशक मल्लले आफ्नो ५० वर्ष लामो नाट्ययात्रामा बिम्ब र प्रतीकको शैलीलाई छोडेर यसपटक पहिलोपटक यथार्थपरक प्रस्तुति अँगालेको उल्लेख गरेका छन्। करिब दुई घण्टा अवधिको यस नाटकले एउटा नेताको जीवनी मात्र नभई नेपाली इतिहासको महासंग्राम र एउटा निष्ठावान् योद्धाले ‘लौहपुरुष’ बन्ने क्रममा भोगेका मानसिक तथा शारीरिक संघर्षलाई कलात्मक रूपमा स्पर्श गरेको छ। प्रा. डा. सावित्री कक्षपतीको स्क्रिप्ट सम्पादन रहेको छ।
नेपाली जनताको अधिकार र स्वाभिमान स्थापनाका लागि गरिएको बलिदानको जीवन्त दस्तावेज मानिएको ‘वीर गणेशमान’ आगामी २०८३ असोज १४ गतेसम्म मञ्चन हुनेछ। सर्वनाम थिएटरमा बिहीबार बाहेक हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुने यो नाटक दर्शकको सुविधालाई ध्यानमा राख्दै शनिबार दिउँसो १:०० बजे अतिरिक्त शोसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।