काठमाडौँ :
अभिनेत्री तथा निर्देशक रेखा थापाद्वारा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित भएको छ। निर्माण पक्ष ‘दिया एण्ड अमु फिल्मस् प्रालि’ले एक विज्ञप्ति जारी गर्दै पूर्वघोषित प्रदर्शन मिति भदौ २६मा फिल्म प्रदर्शन रोकिएको जानकारी दिएको हो।
देशमा विद्यमान प्रतिकूल परिस्थिति र दुःखद वातावरणलाई मध्यनजर गर्दै यस्तो परिस्थितिमा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उपयुक्त नदेखिएकाले प्रदर्शन रोक्ने निर्णय लिइएको निर्माता तथा अभिनेता दिल श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार अब यो फिल्म आगामी तिहार पर्वको अवसर पारेर कार्तिक २० देखि देशभरका सिनेमाघरमा सार्वजनिक प्रदर्शनमा आउनेछ।
लभस्टोरी कथा तथा पारिवारिक कथावस्तुमा आधारित यस फिल्ममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, निर्माता दिल श्रेष्ठसहित पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहका साथै लक्ष्मी गिरी, विशाल पहाडी, रवि डङ्गोल लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठको निर्माण रहेको यस फिल्मको कथा तथा पटकथा रहेको छ। यस फिल्मका गीतमा गम्भीर विष्टले नृत्य निर्देशन गरेका छन्। यस फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी, रिच इन्टरटेन्मेन्टले जिम्मा लिएका छन्।