सुचना, समाचार र मनोरन्जन

‘गोबर गणेश’को ९ दिन सम्मको कमाइ १ करोड १० लाख माथि भएको निर्माण पक्षको दाबी

काठमाडौं :

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।

माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यो चलचित्रले १ करोड १० लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ। ९ दिन (शुक्रबार) सम्ममा चलचित्रले उक्त कमाइ गरेको हो।

दोस्रो सातामा पनि चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ भने विशेषगरी दर्शकको सकारात्मक प्रतिक्रिया बलियो भएका कारण ‘गोबर गणेश’ हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको देखिएको छ। दर्शको वर्डअफ माउथ राम्रो बनेसँगै यो चलचित्रका कलाकारहरू विभिन्न सिनेमा हलहरूमा पुगेर प्रतिक्रिया लिइरहेका छन्।

निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठ भन्छन्, “हामीले एउटा इमानदार कथा भन्ने प्रयास गरेका थियौँ। दर्शकले हलबाट निस्कँदा ‘यो मेरो आफ्नै कथा हो’ भनिरहनु भएको छ । एउटा मेकरका लागि यो नै सबैभन्दा ठूलो अवार्ड हो । दर्शकको यो मायाले अबका दिनमा हलमा उपस्थिति अझै बढ्नेमा हामी ढुक्क छौँ।”

चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरेका छन्। निम्नमध्यम वर्गीय नेपाली परिवारको दैनिक संघर्ष, सपना र बाध्यतालाई पर्दामा दुरुस्तै उतारिएको भन्दै दर्शक भावुक समेत हुने गरेका छन्। बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, पदम तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ र सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), सन्तोष बानियाँ लगायतको अभिनय देख्न सकिन्छ।

यसअघि टेलिभिजन पर्दामा ‘बल्छी धुर्वे’ को रूपमा रुचाइएका मरिचमानले ठूलो पर्दामा पनि निर्देशक र कलाकार दुवै भूमिकामा आफूलाई सफल प्रमाणित गर्ने संकेत चलचित्रले अहिले पाइरहेको मायाबाट देखिन्छ।

Leave A Reply

Your email address will not be published.