सुचना, समाचार र मनोरन्जन

भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र

लमजुङ, 

गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको गुरुङ चलचित्र यात्रा अहिले नयाँ मोडमा आइपुगेको छ ।

कुनै समय भाषा र पहिचान जोगाउने अभियानका रूपमा विकास भएको यो क्षेत्र अहिले गुणस्तरीय निर्माण, आधुनिक प्रविधि र व्यावसायिकतामा केन्द्रित हुन थालेको छ । चलचित्र निर्माणको सङ्ख्या विगतको तुलनामा घटे पनि निर्माण भएका चलचित्रको स्तर उकास्ने प्रयास जारी छ ।

सो समुदायको बाक्लो बस्ती रहेको लमजुङसहित, कास्की, मनाङ, स्याङ्जा, तनहुँ, गोरखा र आसपासका जिल्लामा गुरुङ भाषाका चलचित्र निर्माण हुँदै आएका छन् ।  गाउँगाउँमा प्रदर्शन गरिने यस्ता चलचित्रले गुरुङ समुदायको भाषा, भेषभुषा, संस्कार, संस्कृति र जीवनशैलीलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।

पछिल्लो समय दर्शकको रुचि, प्रविधिको विकास र चलचित्र बजारमा आएको परिवर्तनसँगै गुरुङ चलचित्र क्षेत्र विस्तारै व्यावसायिक यात्रातर्फ अघि बढेको छ । यस्तै, कथा, प्रविधि, छायाङ्कन, सम्पादन र कलाकारको पारिश्रमिकमा परिवर्तन देखिन थालेको छ ।

विगतमा समुदायको सेवाभावले चलचित्र निर्माण हुनेगरे पनि राम्रो कथा, दक्ष कलाकार, आधुनिक प्रविधि र गुणस्तरीय निर्माणमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ । सो परिवर्तनका साक्षीमध्ये एक हुन् दक्षिण एसियाकै नमुना गाउँका रूपमा परिचित लमजुङको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँका गमन घले । विसं २०५७ मा मान्छेको मन चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएका उहाँले हालसम्म ३५ भन्दाबढी गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनका अनुसार सुरुका दिनमा गुरुङ चलचित्रमा आर्थिक लाभभन्दा भाषा, कला र संस्कृतिप्रतिको लगाव नै ठूलो थियो । पहिलो चलचित्रमा अभिनय गर्दा उनले रु एक हजार ६०० पारिश्रमिक पाएका थिए भने एउटै चलचित्रमा अभिनय गरेबापत रु तीन लाखसम्म पारिश्रमिक पाउने अवस्था बनेको उनले जानकारी दिए ।

गुरुङ चलचित्र क्षेत्रमा विस्तारै व्यावसायिक सोचको विकास भइरहेको उनको बुझाइ छ । केही वर्षयता विदेशमा बस्दै आउनुभएका घलेले विदेशमै रहेर पनि गत वर्ष एउटा म्युजिक भिडियोमा अभिनय गरेका थिए । समय र अवसर मिले पुनःअभियनयमा सक्रिय हुने योजना उनले सुनाए । उनका अनुसार गुरुङ चलचित्र केबल मनोरञ्जनको माध्यम मात्र नभई भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने सशक्त माध्यम पनि बनेको छ ।

चलचित्र क्षेत्रमा आएको परिवर्तन कलाकारको पारिश्रमिक, काम गर्ने शैली र चलचित्रप्रतिको दृष्टिकोणमा पनि देखिन थालेको छ । विगतमा भाषा, कला र संस्कृतिप्रतिको लगावका कारण कम वा बिनापारिश्रमिक काम गर्ने अवस्था थियो ।

अहिले कलाकारहरूले आफ्नो श्रमको उचित मूल्य खोज्न थालेका छन् । म्रस्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडाका विष्णु गुरुङ पनि गुरुङ चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । विसं २०६५ मा ‘मिग्ली’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका उनले ‘कर्मको बाटो’, ‘नबिर्सने माया कर्म’, ‘मनको मान्छे’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । हाल प्रदर्शन भइरहेको गुरुङ चलचित्र ‘मुख्या’मा अभिनय गर्नुभएका उनले अहिले सामान्यतया रु एक लाख ५० हजारभन्दा बढी पारिश्रमिक लिने गरेको सुनाए ।

आगामी असोजदेखि ‘मुख्या–२’ को छायाङ्कन सुरु हुने तयारीमा रहेको र त्यसमा थप पारिश्रमिक पाउने अपेक्षा रहेको उनको भनाइ छ ।

दोर्दी गाउँपालिका–५ पाचोकस्थित छैलुङकी खुसी गुरुङ पनि गुरुङ चलचित्र क्षेत्रकी परिचित कलाकार हुन् । पहिलो चलचित्र ‘मैँ’बाट अभिनय यात्रा सुरु गर्नुभएकी उहाँले हालसम्म नौ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन् । उनको पछिल्लो चलचित्र ‘ढोगभेट’ अहिले विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

गायन, अभिनय र लेखन क्षेत्रमा सक्रिय खुसी चलचित्र भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने प्रभावकारी माध्यम भएको बताउँछन् । “हामीले चलचित्र नबनाउने हो भने नयाँ पुस्ताले आफ्नै भाषा, संस्कार र संस्कृतिलाई नचिन्ने अवस्था आउन सक्छ”, उनले भने, “त्यसैले संस्कृति जोगाउने उद्देश्यका साथ चलचित्रमा काम गरिरहेको छु ।”

बेँसीसहर नगरपालिका–४ का मनोज गुरुङ नयाँ पुस्ताका गुरुङ चलचित्रका अर्का लोकप्रिय कलाकार हुन् । विसं २०७६ मा ‘आमाको मन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका उनले अहिले कथावस्तु, निर्माण पक्ष र भूमिकाका आधारमा पारिश्रमिक लिने गरेको सुनाए ।

मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुकी धनकुमारी गुरुङ यस क्षेत्रको नवोदित कलाकार हुन् । तीन वर्षअघि ब्लगिङमा सक्रिय रहँदा बेलायतमा रहेका एक नेपालीको प्रस्तावपछि उनले चलचित्र क्षेत्रमा पाइला चालेका हुन् ।

“हेर्दा सजिलो लाग्थ्यो, आफैँले गर्दा निकै मेहनत गर्नुपर्ने रहेछ”, उनले भने । उनका अनुसार संस्कृति जोगाउने नाममा कलाकारले सधैँ निःशुल्क काम गर्नुपर्ने सोच परिवर्तन हुन आवश्यक छ ।

“राम्रो कथा, पर्याप्त लगानी, दक्ष कलाकार र आधुनिक प्रविधिमा आधारित चलचित्र निर्माण गर्नसके गुरुङ चलचित्रले अझ फराकिलो दर्शक पाउन सक्छ”, उनले अगाडि थपे ।

दोर्दी गाउँपालिका–८ का निर्देशक तथा निर्माता खुशबहादुर गुरुङले चलचित्र क्षेत्र विस्तारै व्यावसायिक यात्रातर्फ अघि बढिरहेको बताउँछन् । उनका अनुसार विगतमा गुरुङ चलचित्र मुख्यतःभाषा, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले निर्माण हुने गरेका थिए । अहिले पनि त्यो उद्देश्य कायमै रहे पनि चलचित्रलाई गुणस्तरीय, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकता बढेको छ ।

कोरोना महामारी अघि गण्डकी प्रदेशमा बर्सेनि करिब १० देखि १२ वटा गुरुङ चलचित्र निर्माण हुने गरेका थिए । त्यसपछि निर्माण प्रभावित भएको र विस्तारै सुधार हुँदै गए पनि अहिले वर्षमा करिब पाँचदेखि सात वटा चलचित्र मात्र निर्माण हुने गरेको छ ।

पछिल्लो पुस्तामा गुरुङ भाषाको प्रयोग घट्दै जानु पनि चलचित्र क्षेत्रको चुनौती हो । भाषा र संस्कृतिको पुस्तान्तरणमा असर परेको उनको बुझाइ छ ।

उनका अनुसार गुरुङ चलचित्र क्षेत्रको अर्को ठूलो चुनौती बजारको सीमितता हो । विभिन्न जिल्लामा पनि भाषा र लवज फरक छ । आफ्नै समुदायको चलचित्र भए पनि भाषा नबुझ्दा कतिपय दर्शक टाढिने अवस्था रहेको उनले बताए । गुरुङ चलचित्र प्रवर्द्धनका लागि गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले गुरुङ भाषा वा करिब ९० प्रतिशत गुरुङ भाषामा निर्माण भएका चलचित्रलाई प्रोत्साहनको व्यवस्था गरेको छ ।

डिजिटल प्रविधिको विकासले चलचित्र निर्माणमा केही सहजता ल्याएको छ । यद्यपि राम्रो चलचित्रका लागि पर्याप्त लगानी आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्ला दिनमा निर्माण सङ्ख्या घटे पनि गुणस्तरीयता, व्यावसायिकता र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने उद्देश्यले गुरुङ चलचित्रले छुट्टै स्थान बनाइरहेको छ । चुनौतीका बीच पनि नयाँ सम्भावना खोज्दै अघि बढिरहेको यस क्षेत्रले उचित लगानी र समुदायको साथ पाए आगामी दिनमा अझै सशक्त रूपमा स्थापित हुने आधार बनेको छ ।

Leave A Reply

Your email address will not be published.