सुचना, समाचार र मनोरन्जन

पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको चलचित्र ‘हली’ चर्चामा,साउन २२ मा आउने

काठमाडौँ :

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको नयाँ नेपाली चलचित्र ‘हली’को तेस्रो आधिकारिक पोस्टर  सार्वजनिक गरिएको छ। आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउन लागेको यस चलचित्रको निर्माण पक्षले प्रदर्शन मिति नजिकिँदै गर्दा आफ्नो प्रचारप्रसारलाई तीव्र पारेको हो।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको छ। चलचित्रले समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली श्रमजीवी नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षको भनाइ छ।

सार्वजनिक पोस्टरमा ग्रामीण परिवेश र श्रमजीवी वर्गको कथालाई मुख्य विषयवस्तु बनाइएको देखिन्छ। पोस्टरको मुख्य केन्द्रमा काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोको बोकेर गम्भीर मुद्रामा रहेकी एक महिलाको तस्बिरलाई प्रस्तुत गरिएको छ, जसले परम्परागत नेपाली कृषि जीवन र त्यसभित्रको संघर्षलाई झल्काउँछ। पृष्ठभूमिमा पहाडी भेगको परम्परागत ढुङ्गे घर र एउटी महिलालाई ढोकाबाट चियाइरहेको अवस्थामा देख्न सकिन्छ। चलचित्रको हाइप बजारमा विस्तारै बढ्दै गएको निर्माण टिमको दाबी छ। चलचित्रको लेखन तथा निर्देशन सफल निर्देशक ओम प्रतिकले गरेका हुन्।

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको यस चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। चलचित्रको विशेष आकर्षणको रूपमा एउटा प्रमोशनल गीत समावेश गरिएको छ, जसमा नेपालका चर्चित शीर्ष कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्। उक्त गीतको कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन् भने चलचित्रका अन्य गीतहरूको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका छन्।

कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस चलचित्रमा राहुल राईको छायांकन र रामप्रसाद चौधरी एवं विपिन मल्लको सम्पादन रहेको छ। चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। निर्माता जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको चलचित्रको मुख्य गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

Leave A Reply

Your email address will not be published.