काठमाडौं ।
प्रदर्शनको पहिलो दिनदेखि नै दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले बक्स अफिसमा बलियो व्यापारिक लय समाउन थालेको छ । प्रदर्शनको सुरुवाती दिनहरूमा सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) बटुलेको यस चलचित्रका कतिपय शोहरू २४ घण्टा अगावै हाउसफूल हुन थालेका छन् भने अन्य शोहरू ‘फिलिङ फास्ट’को सूचीमा परेका छन् ।
विशेष गरी विद्यालयहरूले पूरै हल बुक गरेर आफ्ना विद्यार्थीहरूलाई चलचित्र देखाउन लैजाने क्रम सुरु भएपछि यसको व्यापारमा ठूलो उछाल आएको हो । स्कुल बुकिङका कारण बुधबारका कतिपय शोहरू मंगलबार नै हाउसफूल भइसकेका थिए । चलचित्र हेरेका विद्यार्थी, शिक्षक र अभिभावकले यो सबैले हेर्नैपर्ने सिनेमा बनेको प्रतिक्रिया दिएका छन् ।
यसअघि ऐतिहासिक कमाइ गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गरिसकेका निर्माता विनोद पौडेलले ‘रोल नं १’ मा पनि सोही प्रकृतिको व्यापारिक लय फर्किएको बताएका छन् । “हाम्रो चलचित्रमा आएको सकारात्मक प्रतिक्रियाले काम गर्न थालेको छ, केही स्कुलहरूले आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन ल्याउन थालेका छन्,” निर्माता पौडेलले खुसी व्यक्त गर्दै भने, “हामी यही दिनको प्रतीक्षामा थियौँ र यो क्रमले निरन्तरता पाउनेमा हामी ढुक्क छौँ ।”
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने शिवराम श्रेष्ठले यसको छायांकन (डीओपी) गरेका हुन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रका सह-निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बाल-कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ । यो चलचित्र गत शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ ।