काठमाडौं :
९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। निर्माण टिमले हालै यो फिल्मलाई ओटीटीमार्फत रिलिज गरेको हो। अब हलमा यो फिल्म हेर्न नपाएकाले विश्वभरका दर्शकले हेर्न पाउने भएका छन्।
गत वर्ष नेपालमा रिलिज भएको यो फिल्म उत्कृष्ट समीक्षा प्राप्त गरेको मध्ये एक हो। यो चलचित्रले संयुक्त राज्य अमेरिकाको लस (एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको थियो भने ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट फिल्मसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो ।
हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ। नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनल सम्म पुगेको थियो।
त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको ‘हल्कारा’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गरेका छन्। महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ। यो फिल्म कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो।
यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ। कलरिस्ट लियोनार्डो क्यानेडियन हुन्।