काठमाडौं :
अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा रहेको फिल्म ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ।
ग्रामीण परिवेश झल्काउने शैलीमा तयार गरिएको गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’ अहिले रंगीन ढंगले छायांकन भइरहेको निर्माण टिमले जनाएको छ। गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतका शब्द सुवल मणि सापकोटाले लेखेका हुन् भने संगीत पनि साप शक्तिकै रहेको छ। गीतको रेकर्डिङ अनामनगरस्थित ए प्लस स्टुडियोमा गरिएको हो भने संगीत संयोजन महाराज थापाले गरेका छन्।
निर्देशक मधुसुधन भट्टराईको निर्देशनमा निर्माण भइरहेको फिल्म कमेडी तथा सामाजिक कथामा आधारित छ। फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राईले गाउँका मिल्ने तीन साथीको भूमिकामा अभिनय गरेका छन्।
यसका साथै फिल्ममा लक्ष्मी बर्देवा, राजाराम पौडेल र रवीन्द्र झालगायत कलाकारको पनि अभिनय रहनेछ। प्रसिद्धी सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। फिल्म आगामी चैत १३ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ।