काठमाडौं :
पछिल्लो समयकी व्यस्त अभिनेत्री वर्षा सिवाकोटी नयाँ फिल्म ‘गंगा रानी’ मा अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा फिल्ममा साइन गराउँदै यसको पहिलो लुक्ससमेत सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा वर्षा रातो पहिरनमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन्, जसले फिल्मभित्र प्रेम, रहस्य र संघर्षको कथालाई संकेत गर्छ। पोस्टरको अग्रभागमा एक युवकको कालो छायाँ देखाइएको भए पनि ती पात्र को हुन् भन्ने कुरा निर्माण पक्षले गोप्य नै राखेको छ। पुराना घरहरू र बस्तीको परिवेश पृष्ठभूमिमा रहेको यस पोस्टरमा सुनौलो तथा मधुरो प्रकाशको प्रयोग गरिएको छ।
अभिनेत्री सिवाकोटीको हातमा हाल ‘पारस’ र ‘टिका’ लगायतका आधा दर्जन फिल्महरू छन् भने उनले अभिनेता निखिल उप्रेतीसँग फिल्म ‘कस्तुरी’ को छायांकन भर्खरै सकाएकी छन्।
‘आहा फिल्मस्’ को प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मका निर्माता कमल प्रसाद शर्मा हुन्। फिल्मको लेखन तथा निर्देशन सानेले गरिरहेका छन्। निर्देशक सानेका अनुसार फिल्मको छायांकन आउँदो भदौ दोस्रो हप्ताबाट सुरु गरिनेछ।
४ महिला र ४ पुरुष कलाकारका लागि कास्टिङ कल
फिल्म घोषणासँगै निर्माण टिमले नयाँ कलाकारहरूका लागि ‘कास्टिङ कल’ समेत आह्वान गरेको छ। मुख्य पात्रहरूका लागि २० देखि ४० वर्ष उमेर समूहका ४ जना पुरुष र १८ देखि ३५ वर्ष उमेर समूहका ४ जना महिला कलाकारले आवेदन दिन सक्ने निर्माण पक्षले जनाएको छ।
निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘बिरंगना’, ‘बुलाकी’ र ‘सिटामोल’ लगायतका फिल्महरू लेखन तथा निर्देशन गरिसकेका छन्। उनले फिल्म ‘बुलाकी’ बाट उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत जितेका थिए। सानेकै निर्देशनमा तयार भएको अर्को फिल्म ‘लज्जावती’ भने प्रदर्शनको पर्खाइमा छ।