काठमाडौँ :
मंसिर १२ गते प्रदर्शनमा आउने पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ले बिहीबार आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मको उक्त गीतमा एलिस कार्कीको संगीत, प्रताप दास र सदिक्षा कट्टेलको स्वर र पवित्रा घिमिरेको शब्द रहेको छ। गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफ गरेका हुन् भने आलोक शुक्लाले खिचेका दृश्यमा फिल्मका अधिकांश कलाकारलाई फिचर गरिएको छ।
पारिवारिक जमघटको माहोलमा प्रस्तुत गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ र लुनिभा तुलाधरलगायतका कलाकारको उपस्थिति देख्न सकिन्छ।
निर्माण पक्षले गीतलाई नेपालीहरूको रमाइलो जमघट तथा नृत्य–गीतको नयाँ खुराक हुने विश्वास व्यक्त गरेको छ। ‘हर्ष’लाई प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता हिक्मत चोखाल रहेका छन्। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ, विशाल पहारीलगायत कलाकारको अभिनय छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन्। स्वर्गीय निर्देशक शिव रेग्मीकी भाञ्जी रहेकी पौडेलले यस फिल्ममार्फत रेग्मीको विरासतलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
चितवनमा खिचिएको फिल्ममा समीर र हिमाल, बसन्त सापकोटा र एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलकै कोरियोग्राफी रहेको छ। फिल्मको वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ भने डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ।