सुचना, समाचार र मनोरन्जन

‘हर्ष’को प्रचार चितवनमा तिव्र, निर्माण टिमले स्कूलदेखि महोत्सवसम्म पुगेर गर्यो अन्तर्क्रिया

चितवन :

मंसिर १२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित सिनेमा ‘हर्ष’को निर्माण टिम चितवनमा प्रचार–प्रसारमा तिव्र रूपमा सक्रिय भएको छ। निर्देशक एकता पौडेलको जन्मथलो समेत रहेको चितवनमा टीमले आज बिहानदेखि विभिन्न कार्यक्रममार्फत स्थानीय दर्शकसमक्ष सिनेमा परिचय गराएको हो।

बिहान चितवनमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेपछि टिम ग्लोरियस एकेडेमी स्कुल पुगेको थियो, जहाँ विद्यार्थीलाई सिनेमाबारे जानकारी दिइयो। निर्माण टिम आजै खेलकुद तथा वृहत व्यापारिक महोत्सव २०८२ मा सहभागी हुँदै दर्शकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दैछ।

प्रचार टिममा निर्देशक एकता पौडेलसँगै कलाकार वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्री चितवन पुगेका छन्। पत्रकार भेटघाटमा निर्देशक पौडेलले आफू चितवनकी चेली भएकाले ‘हर्ष’ले स्थानीय दर्शकको माया पाउनेमा आत्मविश्वास व्यक्त गरिन्। “धेरै मेहनत गरेर सिनेमा निर्माण गरेकी छु, सबैको साथ र सहयोगको अपेक्षा छ,” उनले भनिन्।

मुख्य अभिनेत्री वर्षा राउतले ‘हर्ष’लाई पारिवारिक र भावनात्मक कथा भएको बताउँदै सबै उमेरका दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। कलाकार सन्तोष पन्तले महिला निर्देशकले गरेको परिश्रम र दृष्टिकोणलाई दर्शकले सम्मानपूर्वक साथ दिन आग्रह गरे। कोरियोग्राफर सुनिल क्षेत्रीले फिल्म राम्रो बनेको भन्दै चितवन महोत्सवमा विशेष प्रस्तुति लिएर उपस्थित भएको बताए।

चितवनमा नै सम्पूर्ण छायांकन गरिएको ‘हर्ष’ एकता पौडेलको निर्देशनमा बनेको पहिलो फिचर फिल्म हो। उनी स्व. निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ अध्ययन गरिसकेकी पौडेलले यसअघि केही छोटा फिल्म निर्माण गरेकी थिइन्।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने र वर्षा राउतले मुख्य भूमिका निभाएका छन्। उनीहरूसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

सिनेमामा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा बनेको ‘हर्ष’को कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माताको भूमिकामा छन् भने कार्यकारी निर्माता हिक्मत चोखाल हुन्। प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्माको समेत योगदान रहेको छ।

Leave A Reply

Your email address will not be published.