सुचना, समाचार र मनोरन्जन

निर्माता संघमा श्रीधरको डाइरेक्ट इन्ट्री—प्रतिस्पर्धा नै नपरी विजयी

फोटो पत्रकारितादेखि फिल्म निर्माणसम्म

काठमाडौं :

नेपाल चलचित्र निर्माता संघको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेसँगै पदाधिकारीका उम्मेदवारको टुंगो लागेको छ। शनिबार उम्मेदवारी दर्ता अवधि सकिएपछि निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार कोषाध्यक्ष र कार्यसमितिका सात सदस्य निर्विरोध चयन भएका छन्।

निर्वाचन समितिले कार्तिक ३० गते ११ बजेदेखि २ बजेसम्म दावी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरेको छ। प्राप्त सूचनाअनुसार कोषाध्यक्ष पदमा रामप्रसाद रिजाल निर्विरोध बनेका छन्। त्यस्तै नौ सदस्य रहने कार्यसमितामा सातजनामात्र उम्मेदवारी परेकाले ती सबै सदस्य स्वतः निर्वाचित भएका छन्। निर्विरोध सदस्यमा श्रीधर पौडेल, चुम्बन जंग शाही, टंकबहादुर बुढाथोकी, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन्।

संघको नयाँ नेतृत्वका प्रमुख पदमा भने प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा सुनिलकुमार थापा र उदय सुब्बामध्ये एक विजयी हुनेछन्। उपाध्यक्षका लागि दीपेन्द्र के. खनाल, रौनकविक्रम कडेँल र ज्योतीराज राई मध्येबाट दुई जनाको चयन हुनेछ। महासचिवमा किरण नेपाली र खगेन्द्रप्रसाद लामिछानेबीच मुकाबला हुनेछ भने सचिवमा युवराज गिरी र किसान पोखरेलबीच प्रतिस्पर्धा रहनेछ।

निर्वाचित सदस्य श्रीधर पौडेल लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय व्यक्ति हुन्। कान्तिपुर दैनिक, अनलाइनखबर, नयाँ पत्रिका दैनिक तथा नागरिक दैनिकको ‘शुक्रबार’सहित विभिन्न सञ्चारमाध्यममा फोटो पत्रकारका रूपमा काम गरिसकेका पौडेल हाल ‘मेरो फिल्म’का सम्पादक तथा प्रबन्ध निर्देशक छन्। चलचित्र निर्माणतर्फ पनि सक्रिय रहेका उनले ‘गोपी’ र ‘बहाव’ निर्माण गरिसकेका छन्। हाल ‘मुना–मदनको ब्रेक अप’ नामक नयाँ चलचित्र छायांकन तयारीमा छ।

Leave A Reply

Your email address will not be published.