सुचना, समाचार र मनोरन्जन

साइमन वादी फिचर्ड ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक

काठमाडौं :

गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरिएको छ। स्वर्गीय निर्देशक शिव रेग्मीले लेखेको शब्द, समीर–हिमालको कम्पोज तथा बसन्त सापकोटाको पुनः एरेञ्जमा तयार गीतमा गरिमा अधिकारीको स्वर रहेको छ।

साइमन वादी फिचर्ड गीतको भिडिओमा खगेन्द्र लामिछाने, वर्षा राउतसहितका कलाकार देखिन्छन्। फिल्म रिलिजसँगै बाल कलाकार साइमन वादीले पाएका प्रतिक्रियाले उनी पछिल्ला दिनमा चर्चाको केन्द्र बनेका छन्। कलाकार राउत र साइमन दुवै देशभरका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

शनिबार चलचित्र हेरेको पोखरा एभेन्जर्स टिमले गेमको दबाबबीच राम्रो फिल्म हेर्न पाएको बताउँदै सकारात्मक प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ। एकता पौडेल निर्देशित ‘हर्ष’ उनको डेब्यु निर्देशन हो। स्व. शिव रेग्मीकी भान्जी पौडेलले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ तथा सञ्चार, व्यवस्थापन र नेतृत्व विषयमा उच्च अध्ययन गरेका छन्। उनले यसअघि केही छोटा चलचित्र निर्माण गरेकी थिइन्।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीका भूमिका छन्।

आलोक शुक्लाको छायांकन, समीर–हिमाल, बसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा समावेश छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिज bannerमा बनेको फिल्मको कथा निर्देशक पौडेलले लेखेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता छन्। प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहेका छन्।

Leave A Reply

Your email address will not be published.