काठमाडौं :
विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएर घरेलु दर्शकमाझ चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ रिलिज हुँदा यसले कस्तो कथा भन्नेछ ? विश्वका ठूला फिल्म फेस्टिभलमा छनोट भएको र अवार्ड जितेको यो सिनेमाले उठान गरेको विषय के हो ? यो सिनेमाको प्रतिक्षामा रहेका दर्शकका लागि यो कौतुहलता पक्कै होला।
‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले हात्तीको कथा उठान गरेको छ । हात्तीको कथा उठान गर्ने यो पहिलो नेपाली चलचित्र हो। तर, ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ पूरै हात्तीकै कथामा आधारित सिनेमा भने नभएको यसको निर्माणपक्ष बताउँछ। हात्ती सिनेमामा विम्बको रुपमा प्रयोग भएको छ। हात्ती सिनेमाको पात्र पनि हो। सिनेमाको मूल पात्रसँग हात्ती जोडिएर आउने निर्माणपक्षको दाबी छ।
“हात्ती फिल्ममा एउटा पात्र हो। र,एउटा विम्ब पनि हो। हाम्रो लागि हात्तीले सिमान्तकृत समुदाय र उनीहरूमाथि समाजले बनाएका सीमाहरूलाई पनि प्रतिनिधित्व गर्छ,” निर्माता अनुप पौडेल भन्छन्,“हामी हात्तीलाई पूजा गर्छौं, तर त्यही हात्तीलाई हामी जंगलभित्रै सीमित पनि राख्छौँ ।”
जसरी हात्तीलाई जंगलभित्र सीमित गरिन्छ, त्यसैगरी सिनेमाको मुख्य पात्रसँग सिनेमाको हात्ती विम्बका रुपमा जोडिएर आउँछ। सिमान्तकृत समुदाय कसरी निश्चित सीमामा सीमित भएका छन्, भन्ने ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले देखाउँछ।
“मानिसहरूले आफ्नो वरिपरि बनाएका सीमा र नियन्त्रणसँग हात्तीको कथा जोडिन्छ,चाहे त्यो सीमा प्रकृतिलाई लिएर होस्,या महिला र सिमान्तकृत समुदायलाई लिएर,” निर्माता पौडेल भन्छन्।
तर, ट्रेलरमा हात्ती देखिएको छैन। किन भन्ने प्रश्नमा उनी भन्छन्,“हात्ती ट्रेलरमा नदेखिनु चाहिँ जानाजानी हो। हामीले ट्रेलरमै हात्ती देखाएर फिल्मको सबै कुरा बताउन चाहेनौँ । हात्ती फिल्मको कथा र अनुभवसँग जोडिएको कुरा हो।”
ट्रेलरले मुख्यतः सिनेमाको मुख्य पात्र पिरती, उनकी छोरी र उनीहरूको संसार चिनाउँछ। तर हात्ती र त्यससँग जोडिएको कथा दर्शकले फिल्ममै अनुभव गरुन् भन्ने आफूहरूको चाहना रहेको उनले प्रस्ट पारे। कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरुमा पुगेर अवार्ड समेत जितिसकेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । यो सिनेमा यही भदौ १९ गतेबाट प्रदर्शनमा आउँदै छ।
कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै यो सिनेमा घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको छ। यस्तै, चलचित्रको निर्माण टिमले भोटेकोसी बाढी प्रभावितका लागि सहयोगको घोषणा गरेको छ। नेपाल प्रिमियर मार्फत आमन्त्रित दर्शकबाट उठ्ने अनुमानित सात लाख तथा निर्माताहरूको तर्फबाट दुई लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्माण टिमले बताएको छ।
चलचित्रका अन्तर्राष्ट्रिय सह-निर्माताहरूले पनि बाढीपीडितका लागि सहयोग जुटाउने निर्देशक अविनाश विक्रम शाहले बताएका छन्।जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ।
चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो। यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।
चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।