सुचना, समाचार र मनोरन्जन

बाढीपीडितको साथमा नमस्ते कम्युनिटी फाउन्डेसन, ५ लाख सहयोग

पोखरा,

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नमस्ते कम्युनिटी फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

फाउन्डेसनले उक्त सहयोगलाई प्रारम्भिक आर्थिक योगदानका रूपमा लिँदै आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र परिस्थितिअनुसार सहयोगलाई निरन्तरता दिने जनाएको छ।

प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षति र पीडाप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले प्रभावित परिवारलाई आफूहरू एक्लो नरहेको सन्देश दिएको छ। विपत्तिको समयमा सामूहिक एकता, सहयोग र मानवीय भावनाबाट पीडालाई आशामा बदल्नुपर्नेमा फाउन्डेसनले जोड दिएको छ।

“हाम्रो जीवनमा सबैभन्दा पहिलो प्राथमिकता मानवता हो। हामी हृदयदेखि सहयोग गर्छौं र प्रत्येक सहयोगलाई पारदर्शी राख्छौं,” फाउन्डेसनले जनाएको छ।

Gandarbha

नमस्ते कम्युनिटी फाउन्डेसनले यसअघि पनि महाभूकम्प, कोभिड–१९ महामारीलगायत विभिन्न प्राकृतिक विपत्तिका समयमा नेपाली समुदायलाई राहत तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ। फाउन्डेसनका टोली, समर्थक तथा च्यारिटी पार्टनरहरू प्रभावित नागरिकको साथमा रहेको बताइएको छ।

यसैबीच, विपद्को समयमा उद्धार तथा राहतमा सक्रिय सरकारी प्रयासको प्रशंसा गर्दै फाउन्डेसनले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगमा जुटेका सम्पूर्ण हातहरूप्रति सम्मान र आभार व्यक्त गरेको छ।

फाउन्डेसनले आगामी दिनमा राहतसँगै पुनःस्थापनाको आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.